Saturday, October 18, 2014

नीबले ओकलेको राजनीति - जे बी पुन मगर

समिक्षा
जेवी पुन, हेम लावती र रविन राई : बाँयाबाट दाँया
जेवी पुन, हेम लावती र रविन राई : बाँयाबाट दाँया
मेरो हातमा रहेको कवि हाङयुग अज्ञातको कविता संग्रह करङको हिरासत माथि विवेचना गर्नुअघि म नेपाली बौद्धिक बृतमा ब्याप्त एउटा बिचार यहाँ उल्लेख गर्न चाहन्छु । नेपाली राजनीति, समाजशास्त्र र साहित्य लेखनमा बौद्धिक ब्यक्तित्व बनाएका लेखकहरु पहिचानको राजनीति र त्यसलाई ब्याकअप गर्ने बौद्धिक कर्म सबैभन्दा सरल, पपुलिस्ट र दर्शन बिनाको यस्तो हर्कत हो जसले न कुनै गहिरो सिद्धान्त बाकेको हुन्छ न त्यसमा समाज जोड्ने संवेदनशीलता हुन्छ भन्ने तर्क गर्छन् । पहिचानको नाममा आफ्नो जात, धर्म, भाषा, संस्कृतिको सस्तो प्रचारबाजी र उग्रता प्रस्तुत गरेर ब्य
क्तिको भावनासंग खेल्न खोजिने हँुदा यसले बहुजातीय समाजमा ‘आगो लगाई हात सेक्ने’ काम गर्दछ, ति भन्छन् ।
यसो भनिनुका पछाडि दुईटा प्रमुख कारण हुनसक्दछ, पहिलो राजनीतिक चेत । दोश्रो भय । नब्बेको दशकपछि विश्वको परम्परागत राजनीतिक लाइनलाई जर्वदस्त चुनौती दिईरहेको पहिचानको राजनीति स्वंय बिचार, दर्शन र राजनीतिक यस्तो प्याक हो जुन अन्य दर्शन भन्दा सर्वदा भिन्न छ । समाज अध्ययनको नवनित यो विज्ञानले दिल दिमाग दुबैमाथि हस्तक्षेप गरिरहेकोछ । यो बुझेका नेपाली बुद्धिबाजहरु जुन कतिपय सन्दर्भमा परम्परागत नेपाली राज्यसत्ताको मूलधुरी पनि हुन्, त्यो सत्ताको संरचना भत्किने–बिग्रने डरले यो राजनीतिक चेतलाई सिरा देखि खारेज गरिदिन्छन् । यसो गरिनु तिनको बाध्यता पनि हो ।  अर्काे हो डर ।
शाह, राणा, पन्चायत, लोकतन्त्र, गणतन्त्र जुनै तन्त्र भनिएपनि नेपाली सत्ताको बुनावट र त्यसको संरचनाको अध्ययन गर्ने सबैले देखेबुझेकाछन्, त्यसको स्वरुप नेपाली समाज जस्तो बहुरंगी छैन । एउटा रंग मात्र तेसमा पोतिएकोछ । जर्वदस्ती त्यसको महिमागान स्थापित गर्न खोजिएकोछ । नेपाली सत्तारुपी करेसाबारीमा सबै फुल फुल्दैनन् । एउटा फुल मात्र झुलिरहेकोछ । यसलाई हुर्काइरहेका ती मालीलाई त्यसको बिछट्ट माया मोह हुनु स्वाभाविक हो । करेसाबारीमा हामी पनि फुल्न पाउनुपर्छ भन्ने बहुरंगी कोपिलाहरुको आग्रहलाई अराजक देख्नु ति मालीको स्वाभाविक प्रतिक्रिया नै मानिनुपर्छ । तेसैले ति नेपाली विविधतालाई पन्चायती सत्ता चलाउन निर्देशन दिने पाँचौ शताब्दिमा लेखिएको भनिएको मनुस्मृति निर्देशित मदनमणि दिक्षितको ‘भलो कुराको नमुना’ कितापले भने जस्तै  ‘यो देशलाई यथास्थितिमा राखिराख यी ( आदिवासी) बाठा भए हाम्रा सिरिखुरी कहाँ जाला ? भनि डराईरहेकाले बहुरंगी सत्ताको प्रसंग उठ्नासाथ १२ हात उफ्रने गर्छन् ।
यो सबै राजनीतिक चेतका कारण हुने गर्दछ । ति ज्ञानवानहरु पहिचानको राजनीतिको विरोध यसर्थ गरिरहेकाछन्, किनकी ती आफ्नो पहिचानको आधारमा स्थापित नेपाली सत्ताको संरचना यताउति नहोस् भन्नेमा सजग र सचेत छन् । पहिचानको बलमा स्थापित नेपाली सत्ताको विम्वहरु सिर्फ पहिचानकै राजनीतिले ढाल्ने हुनाले ति भयभित छन् । त्यसैले ति साम्प्रदायिक र बिखण्डनकारी भन्दै पहिचान लेख्ने बौद्धिकहरुको सातो काढ्न खोज्छन् । यो बुझेका पहिचानवादी कवि हाङयुग अज्ञात तिनलाई विविधताको गहिरो दर्शन बुझाउँदै आफ्नो फेसबुक स्टाटसमा यस्तो लेख्छन्–
विविधतालाई स्वीकार गर्न हिच्किचाउनेहरू किन बिर्सिन्छन् कि नेपालको राष्ट्रिय चरा डाँफेको रङ्ग नौवटा हुन्छ । र, नौवटा रङ्ग भएकैले डाँफे सुन्दर देखिन्छ । खै ! कहाँ खण्डित छ डाँफे ?

साहित्य लेखिन्छ, किन ?
हरेक लेखनमा लुकेको हुन्छ राजनीति । उल्टाई पल्टाई , हरेक कोणबाट जसरी हेर्नाेस त्यसको कन्टेन्टमा हुन्छ राजनीति ।
मायाप्रतिका कुरा लेख्नोस्
प्रकृतिका सौन्दर्य कथ्नोस् ।
वीर रसका बखान गर्नाेस सबैमा हुन्छ राजनीति ।
तेसमा तपाईको बिचार, दृष्टिकोण , दर्शन छिपेको हुन्छ । अरु दर्शन, सिद्धान्तहरुमा आफ्नो मान्यता र बिचारलाई स्थापित गर्न बौद्धिक रुपमा प्रोपोगान्डा र तर्कशास्त्रको लम्बेतान स्तम्भ खडा गर्नु पर्देन । करिब करिब सिधा सपाट हुन्छ त्यो पुराण । त्यो मूलत दिमागबाट निस्कन्छ । तर पहिचानको राजनीतिको सबैभन्दा महत्वपूर्ण पक्ष तेसलाई तपाई कमजोरी या सबल पक्ष जे सुकै भन्नोस् यो दिल र दिमाग दुबैबाट निस्कन्छ । आफ्नो मानक र मान्यता स्थापित गर्न दुबै शस्त्र उपयोग गरिने हुनाले विश्वमा यो राजनीति सबैभन्दा बढी प्रभावशाली र खतरनाक दुबै ठानिन्छ ।
अलिकति यताउति हुनासाथ यसले सर्वश्व पार्नसक्छ । अहिले विश्वमा भैरहेका द्धन्द्ध, युद्ध अधिकांश यसैको जगमा उभिएकोछ । जर्नल अफ डेमोक्रेसीमा प्रिस्टन विश्वविद्यालयकि राजनीतिशास्त्री प्राध्यापक न्यान्सी बर्मियो लेख्छिन् – सन १९४५ पछि भएका युद्धमध्ये आधा जातीय हिंसामा आधारित छन् । त्यसरी उत्पन्न जातीय हिंसामा परि १ करोड १० लाख मरेकाछन् भने १ करोड २० लाख शरणार्थी बन्नुपरेकोछ । आज राष्ट्र–राष्ट्र भन्दा जाति–जातिबीचको हिंसा नाटकिय रुपले बढिरहेकोछ । किताब भन्छ– दोश्रो विश्वयुद्धमा हताहत हुने मध्ये आधा गैरलडाकु अर्थात सर्वसाधारण थिए । अहिले ७५ प्रतिशत सर्वसाधारण हुन्छन् ।
दुई नश्लबीच चलिरहेको इजरायल–प्यालेस्टिन युद्ध, एउटै इस्लाम धर्म सिया सुन्निबीचको मारकाट, रुसमा बहु–साँस्कृतिक समुदायबीच चलिरहेको जातीय द्धन्द्ध, भारतको पहिचानको नटुगिंने लडाई र नेपालमा २०४६ सालयता चर्किएको मधेस, जनजाति, दलित, बाहुन, खस, क्षेत्री, महिला आन्दोलनको जड दर्शन यहि राजनीतिबाट निसृत भैरहेकोछ । पहिचानको विरोध गर्ने तथाकथित अग्रगमनकारीहरुले माथिका युद्ध र द्धन्द्धलाई देखाउँदै यी सबै हुनुमा पहिचान मागी संघर्ष गर्ने आन्दोलनकारीहरुको दोष देखाई उम्कन्छन्, सजिलै । न तिनलाई तर्क गर्नु छ न तिनलाई द्धन्द्धको अन्र्तबस्तु खोतल्नु छ । न त्यसको समाधान खोज्न । सतही रुपमा टिप्पणी गर्यो, गाली गर्यो र आफ्नो सत्ता बचाउने उपक्रम गरिदियो ।
तिनले के लुकाईरहेकाछन् भने द्धन्द्धको कारण सिमान्तकृत, गरिब र उपेक्षित होईनन् आफ्नो जाति, वर्ग र समुदायको हैकम बचाईराख्न पेलेर जान खोज्ने सत्ता र त्यसका संयन्त्र हुन् । यसमा सत्ताको सबैभन्दा ठूलो स्तम्भ बौद्धिक जमात हुन् जो प्रत्यक्ष परोक्ष यसको बचाव गर्न सत्तालाई कत्लेआममा उतार्न समेत पछाडि हट्दैनन् । सत्ता त्यसरी मैदानमा उत्रिएपछि आन्दोलनकारीहरुलाई उद्देलित पार्ने लेखकहरुले पनि त्यहि रणनीति अख्तियार गर्न सक्छन् । तेसैले विश्वमा मारकाट सघन हुदैं गैरहेको हो । यी दुबै अतिवाद खतरनाक हुन् ।
बुद्धिले चल्छ विश्वतन्त्र । तन्त्र बचाउन रचिने साहित्यले दिन्छ उर्जा । बाहिर पात्र जो देखिएपनि पछाडिबाट राज बुद्धिवाज र शास्त्रले गरिरहेको हुन्छ । किनकी सत्ताको जननी नै हो बुद्धि। त्यसले उत्पादन गरेको दर्शन र सिद्धान्तले चल्छ सत्ता ।
यति भनेसकेपछि करङका हिरासतका लेखक कुन कित्तामा पर्छन् र तिनले कुन मार्ग अख्तियार गरेकाछन् भनि जाँच्नु थाले विमर्श अगाडि बढाउन सजिलो हुनेछ । कवि हाङयुगको कित्ता सत्ता विरुद्ध लागिरहेका आन्दोलनकारीहरुको पक्षमा छ । जनजाति, मधेसी, गरिव, महिला र उपेक्षितहरुको कथामा छ र तिनका सौन्दर्य विस्तारको पक्षमा छ । कवि हाङयुग श्रृजनशील अराजकता आन्दोलनका अभियन्ता भएकोले पनि उनको कविताको दर्शन पहिचानमा आधारित छ । त्यसको राजनीतिक जडमा छ ।
तेसैले यो पुस्तिका हेर्दा पातलो ख्याउटे छ । तर यसभित्रको गुदी डरलाग्दो छ । उचाल्दा हलुको छ तर ग्रहण गर्दा भारी न भारीको छ । बाहिरी रुप हेरेर छ्या भन्नुहोला तर यसका कविता बुझ्न तपाईंले नेपाली र समकालिन विश्व राजनीति, ईतिहास, विश्व दर्शन र धर्मशास्त्र बुझ्न नितान्त जरुरी छ । भनिरहननु परोईन त्यसका लागि भरपुर अध्ययन जरुरी छ । तपाईं सामान्य कविता जस्तो गिदी किनारामा राखी यसलाई पर्गेल्न सक्नु हुन्न ।
साहित्य लेखन कस्तोछ र त्यसको गुदी के छ भनि संश्लेषण गर्ने हो भने लेखकको बिचार र दर्शन बुझ्न सकिन्छ । हाङयुगलाई पढिसकेपछि उनी सिमान्तकृतको पीडा, मुद्दा, संस्कृति र आन्दोलन बोक्ने बौद्धिक लडाकु हुन् भनि प्रष्ट बुझिन्छ ।
उनी र उनले शुरु गरेको श्रृजनशील अराजकता आन्दोलनबारे बुझ्न यहाँ पढ्नोस् ।
माथि उल्लेख गरिए झैं यो कविता सग्रंहमा पनि राजनीति नै राजनीति छ – अझ यसमा त झन पहिचानको राजनीतिको गहमागहमी छ । आहानै छ – युद्ध र प्रेममा सबै जायज छ । पहिचानको रणमैदानमा बौद्धिक शस्त्रले सुसज्जित अज्ञातले त्यो मन्त्रलाई आत्मसात गरेर नगर्नुपर्ने बदमासी त गरेका छैनन् ? हामी पछि चर्चा गर्ने नै छौं । कविता सग्रंहको बैचारिक धुरी पहिचानको राजनीति भएकोले त्यसैको टेकोमा टेकि टिप्प्णी गरिएको फेरि स्मरण गराउन चाहन्छु ।

आफ्नोपनको खोजि
पहिचान भन्नासाथ म को हँु ? मेरो समाज के हो ? मलाई कसले शासन गरिरहेकोछ ? यो शासनसत्तामा म र मेरो पहिचान सुरक्षित छ ? मौलाउन पाएकोछ ? जस्ता प्रश्नको उत्तर खोजिने हुनाले यसको घेरा बृहत छ । मपाईत्वबाट शास्शात्र शुरु हुनाले यो रणमैदानमा लड्ने बौद्धिक लडाकाहरुलाई अरु सिद्धान्त जस्तो सुत्र र अंकगणितीय तर्कशास्त्रले मात्र पुग्दैन । ईतिहास, दर्शन, समाजशास्त्र, मानवशास्त्र , धर्म, अर्थ– राजनीति र आफ्नो र प्रतिद्धन्द्धिको नश्ल र जाति बारे सम्पूर्णता खोज्ने हुत्हुति हुन अत्यावश्यक छ । यसमा सत्ताको कुरा हुन्छ । उत्पीडन र उत्पीडकको नयाँ खालको मानकिय लडाई चल्छ । यसको दर्शनशास्त्र र सौन्दर्यशास्त्र सर्वथा भिन्न हुन्छ । दृष्टान्तको कसीमा यो सग्रंहमा नभएको तर भर्खर सार्वजनिक हाङयुगकै कविता ‘झण्डा’ लाई तौलेर हेरौं ।
दृष्टान्टः
कविले ‘झण्डा’मा नेपाली सत्ता र त्यसको बौद्धिक संयन्त्रले काँध थापिरहेको नेपाली ( राष्ट्रिय) झण्डामाथिको आफ्नो बुझाई कवितामा दिएकाछन् । त्यो पूरै पहिचानको राजनीति र त्यसको भिन्न दर्शन र सौन्दर्यशास्त्र अनुरुप छ । सबैलाई थाहा छ । देश संघीय गणतन्त्र नेपालमा गैसकेपछि राष्ट्रिय चिन्ह, राष्ट्रिय पशु गाई, पक्षीं डाँफे, निशाना छाप, झण्डा लगायतका पुराना सत्ताका प्रतिकहरु धेरै जसो फेरिए र फेर्न बहस भैरहेकाछन् । तर गाई र झण्डाको राजनीति भिन्न रुपले आईरहेकोछ । हिन्दु धर्ममा आमाको स्थान प्राप्त गाई र धर्मशास्त्रले चिन्ने तीनकुने झण्डा फेर्न खोज्दा देशभरका बौद्धिकहरुको लेखकिय आक्रमण र तेसपछि राज्य र तत् समुदायका आन्दोलनकारीहरुको आक्रामक ब्यवहार सबैका सामु छ । यो अवधिमा लेखिएका लेखहरु र राज्य ब्यवहार पढे त्यो राजनीति प्रष्ट बुझिन्छ । तसैको जवाफमा लेखकको यो झन्डा कविता आएको देखिन्छ –
झण्डा
सरकार !
यो लोकतन्त्रमा
भाषण र बयानहरूको
वकपत्र र विज्ञप्तीहरूको
असली अर्थ हुँदोरहेछ
तर यो तेस्तो केही होइन
खालि मेरो मनको हुँडलो हो,
सरकार !
हरेक साल बाल दिवसमा
कागजको झन्डा हल्लाउँदै
श्री ५ महाराजधिराज
र श्री ५ बढामहारानीको
जयजयकार गाउनु भन्दा
ठीक अघिल्लो दिन
स्कुलको कक्षा कोठामा
नेपाली गुरुले पढाउँथ्यो-
“विश्वको एकमात्र विचित्र
त्रिकोण झन्डा
हाम्रो देशको झन्डा !”
बहुत गर्व लाग्थ्यो सरकार !
तर बिस्तारै मैले
यस्तो त्रिकोण पित्तलको झन्डा
मन्दिरका ढोकाहरूमा देख्न थालें
अनि
जब जब बिहान बेलुकी
हरेक दिन रेडियो नेपालबाट
‘रातो र चन्द्र सूर्य
जङ्गी निशान हाम्रो’ गीत बज्थ्यो
तब तब मेरो मनमा
मन्दिरका घण्टहरू बज्न थाल्थे,
जिल्ला पन्चायतबाट
जिल्ला सभापति झर्थ्यो
दौरा सुरुवाल लाएर
ठूलो भुँडीमा
छालाको पेटी बाँधेर
अनि सिडियोसित मिलेर
माथि फलामको पिलरमा
अबिर र फूलसित पोको पारेको
झन्डा डोरीले तानेर फुकाउँथ्यो
म ताली बजाउँथे,
सरकार !
तर यो ३० वर्ष अगाडिको कुरो हो
जतिबेला म
बाल दिवसमा बाँडेका चक्लेटहरू
मुखमा हालेर चुपचाप हुन्थें,
आज मैले थाहा पाएँ
त्रिकोण झन्डाको अर्थ
चन्द्र सूर्यको अर्थ !
सरकारकै नाक जस्तो
चुच्चो रहेछ हाम्रो झन्डा
त्रिकोण झन्डा
मन्दिरकै ढोकाबाट निस्केको रहेछ,
अनि यो झन्डा एक्लो विचित्रको
कहाँ रहेछ र ?
शिव सेनाको झन्डासँग पनि मिल्दो रहेछ
अनि त्यो डमरु र त्रिशूल अंकित
झन्डासँग पनि मिल्दो रहेछ,
सरकार !
यो हाम्रो झन्डा हो
कि कस्को झन्डा हो ?
सरकार !
मेरो मनको हुँडलो
मलाई झन्डाको माया लाग्छ
तर किन किन यस्को आकार
सरकारकै नाक जस्तो
चुच्चो चुच्चो लाग्छ
जय नेपाल सरकार ।
कार्यक्रमपछि सामूहिक तस्वीर
कार्यक्रमपछि सामूहिक तस्वीर

यसमा झण्डाको विम्वको रुपमा ‘चुच्चो नाक’ लाई लिईएकोछ । त्यसको अर्थ चुच्चो नाक भएकाहरुको शासनसत्ता छ भन्न खोजिएको पनि हो । त्यसो त कवितालाई कुनै नियम र बन्धनले बाँध्न नसकिने स्वतन्त्र चरीको रुपमा ब्याख्या गरिन्छ । तर पहिचान जस्तो संवेदनशील मुद्दा उठाँउदा लेखकले भावना र संयमता गुमाउनु हुँदैन । कविले यो कविता फेसबुकमा शेयर गरेपछि बेलायतका बिजया हमालले भित्तामा पुग्नेगरि जवाफ फर्काईन । उनले दिएको कमेन्टमा किराती राजा यलम्बरले यहि तीन चुच्चे झण्डा बोकी लडाई लडिरहेकाछन् भने एउटा बौद्ध गुम्बाको बाहिर तीन पाते पित्तलको झण्डा राखिएकोछ ।
हेर्नाेस तस्वीर –yalamber
तेसैले मैले माथि नै उल्लेख गरिसके – पहिचानको लडाई केहिले ब्याख्या गरेजस्तो सजिलो छैन । मायाप्रतिको बखान गरे जस्तो रमाईलो छैन । यो सबैभन्दा दुरुह र डरलाग्दो हुन्छ । भरपुर अध्ययनको जरुरी हुन्छ । के कवितामा उल्लेख गरिएको झण्डा हिन्दुको हो कि त्यो पछि हिन्दु धर्म र शास्त्रमा छिराईएकाहुन् ? या किरात र बौद्ध विहारहरु हिन्दुकरण गराइएकाहुन् ? आज हामी तेता पट्टि चर्चा गर्देनौं । भविष्यमा मज्जाले गरौंला । तर अहिले किराती लेखक हाङयुगलाई म के अनुरोध गर्दछु भने यस्ता विषयमा गहन अध्ययन गर्न जरुरी छ ।





budha temple

गरिष्ठ भोजन
यो सग्रंहमा १४ कविता छन् । ति सबैको आ–आफ्नै विशेषता छन् । कवितामा नेपाल मात्र छैन हङकङ र चीनको परिवेशको पनि चर्चा छ । हङकङ छिरेपछि आन्दोलनकारी श्रृजनशील अराजक हाङयुग सुब्बासापमा रुपान्तरित भई चाउचाउ ( स्थानीय साहित्य लेखन) मा डुबेकोले होला उनले स्थानीय परिवेश पनि समातेकाछन् । तर त्यस्ता कविता कम छन् । भएकाजति पठनीय र बोधगम्य छन् ।

६ महिनाको भिसामा
त्यो सानो गाँउ पूरै हङकङ घुम्छ
र यो शहरको भब्यतामा जीऊ खोल्छ
त्यो मेन्डरिनको कथा ग्रेटवाल जस्तै लामो छ
तर त्यो एकतलामाथि सिंढी उक्लने बित्तिकै
सकिहाल्दो रहेछ
एक खिलि चुरोट जस्तै
या प्लाष्टिकले घेरिएको मुस्कान जस्तै
त्यो गाँउको कथा
माओत्सेतुङको डायरीबाट निस्केर
हङकङको गल्लीगल्ली चोकचोक
स्तन तन्काएर उभिएकोछ
हेर त उसको स्तनबाट
रातो ताराले चियाईरहेकोछ पिल्पिल्
हेर त उसको स्तनमा
झुण्डिरहेकोछ अभावको भकारी
(सुदूर गाँउको कथा )

राज्यले सिमान्त समुदायलाई कसरी दमन गरिरहेकोछ भनि बुझाउन समकालिन राजनीतिक ईतिहास र हिंजोका घट्नाहरु सम्झाउन खोजेकाछन् । हिंजोको कुरा गैसक्यो किन मरेको सीनो कोट्याउने भन्नेहरुलाई इतिहासबाट पाठ सिक्दै भविष्यको बाटो कोर्न आग्रह गरेकाछन् । त्यसो गरिदा इतिहासको पात्र र घट्नाहरुमाथि पुनः समिक्षा गरि जाँचेकाछन् । शंकाको नजरले मूल्याँकन गरेकाछन् ।

——————————-
karang
पन्चायतकालमा तत्कालिन प्रधानमन्त्री सुर्य बहादुर थापाले जनजाति प्रहरी हाकिम र अन्चलाधिसको सहयोगमा पूर्वमा कम्युनिष्ट मास्ने नाममा गराएको छिन्ताङ काण्डको नामले चर्चित प्रहरी अप्रेशनमा राई समुदायका मान्छेहरु मात्र किन मारिए भन्दै प्रश्न उठाएकाछन् ।
२००७ सालमा लडेका नेपाली काग्रेंसको सशस्त्र जनमुक्ति सेनाका पूर्व कमान्डर रामप्रसाद राईले सरकार बनाउनेबेला विपि कोईरालासंग हामी हनुमान होईनौ रामलाई राजपाठ सुम्पेर जंगल फर्किने हाम्रो ( लडेका जनजाति) पनि सत्तामा भगबण्डा हुनुपर्छ भन्ने आवाज उठाएपछि बेपत्ता पारिएको घट्ना बिर्सदैन भन्दै परम्परागत सत्तालाई चुनौती दिएकाछन् । कविको यो कविताले बोकेको निहितार्थ माओवादी जनमुक्ति सेनाको हविगतले पनि सत्य सावित भएकोछ ।
गरिब, उपेक्षित र सर्वहारा वर्गको अधिनायकत्वको लागि लडेका माओवादीहरुले पब्लिक बसमा यात्रा गरिरहेका गरिब बालिका काजोल खातुनलाई जिउँदै जलाएकाथिए, चितवनमा । लिम्बुवान माग गरि शान्तिपूर्ण आन्दोलन गरिरहेका विद्यार्थी राजकुमार आङदेम्बेलाई झापामा गोली हानी मारेकोथियो लोकतान्त्रिक सरकारले । यस कवितामा लेखकले दुईटा जोड्दार प्रश्न उठाएकाछन् – पहिलो, हरेक न्यायिक लडाईमा अग्रमोर्चामा लडाईने मेरो जातिलाई सत्ता आएपछि किन सबैभन्दा पछाडि राखिन्छ ? अनि, तिनै किन छानीछानी मारिन्छन् ? दोश्रो, मेरो पहिचानका निम्ति लड्ने यी पात्रहरुलाई तिमी ईतिहास र मेलमिलापको नाममा मिल्न भन्छौं तर सपनामा समेत तर्साउने मस्तिष्कमा छापिएको यी आततायी
हाङयुग अज्ञात
हाङयुग अज्ञात
ईतिहास म कसरी बिर्सन सक्छु ?

विक्रम संवत १८३९ डिलिट गर्देमा
कहाँ विर्सिन्छु म
मेरो मन मस्तिष्कमा लागेको छाप ?
म कहाँ विर्सिन्छु
देउमाईको किनार ?
म कहाँ बिर्सिन्छु
छिन्ताङको रातो माटो ?
म कहाँ बिर्सिन्छु
रामप्रसाद राई ?
म कहाँ बिर्सिन्छु
खारा ?
म कहाँ बिर्सिन्छु
‘पब्लिक बस’?
म कहाँ बिर्सिन्छु राजकुमार आङदेम्बे ?
हो, साथी
म कहिले बिर्सिन सक्दिनँ
यो देशका शासकहरुले
मेरो मन मस्तिष्कमा
ल्याम् ल्याम् हानेको तिलङ्गा छाप
म बिर्सिन सक्दिनँ
तिम्रो ईतिहासले ‘डिलिट’ गरेको मेरो इतिहास
म बिर्सन सक्दिन )

पहिचानवादी कवि हाङ्युगले लेखेको हुनाले स्वाभाविक रुपमा सबै जसो कविता पहिचान केन्द्रित छन् । तिनले कथेका, कहेका समकालिन घटना त बुझिएला तर घटनै घट्ना र बिचारोत्तक प्रश्नै प्रश्नको फेहरिस्ट छ किताबमा । जसलाई छिमल्न गिदीलाई बढी नै सास्ती दिईनु पर्दछ ।

कति पिउनु हलाहल?
कति गिँड्नु दक्षप्रजापतिको टाउको ?
कति हिँड्नु तमोरको किनारैकिनार ?
हरेक युगमा
हामीले नै औंला चढाउनुपर्ने ?
हरेक युगमा
हाम्रो उत्सर्गले
पानीजहाज खिपेर
माचिन्डेहरु कोलम्बस हुने ?
(आऊ सामुहिक आत्महत्या गरौं )

हिन्दु साहित्यबाट बढी प्रभावित भएर हो या पहिचानवादीहरुले किटान गरेको प्रमुख अन्र्तविरोध ‘ हिन्दु पहाडे पुरुष सत्ता’ विरुद्ध बाँण सोझ्याईएकोले हो – प्रयुक्त विम्व र पात्रहरु हिन्दु साहित्यबाट भरमार लिईएकाछन् –
पुराणको कालो छाँयाले झेल गरेर
पैतालोद्धारा पाताल दबाईएको – म
अब दानी र उदार हुनु
मृत्युबोध गराउने शास्त्रको यो पक्षबाट
लीला गर्नु
छल्नु र पिउनु लालायित छु
यस युगका देउताहरुभित्रको चुक
देउ/ताहरु काटेर बुद्धिबलले दुई टुक्रामा
यहाँ मान्छेको कथा लेख्नु
म बोलाउँछु फेरि हिटलर इदिअमिनहरु
आओ । आओ ।
( म बलिहाङको उभ्य’दय )


कवि स्टाइल
कविले कवितालाई जसरी र जुन स्टाईलमा पनि ब्याख्या गर्न छुट छ । त्यसको कुनै सीमा र बन्धन हुदैंन भनि प्रतिवाद गरिन्छ । तर परम्परागत यस मान्यताप्रति मेरो भद्र विमति रहँदै आएकोछ । कविता चाहें त्यो मुटुबाट प्रस्फुटन होओस् या मगजबाट प्रवाह होस् आफ्नै शील्प, मिठास र प्रवाहको सम्मिश्रणले मात्र त्यसको दर्शन र बिचारले पाठकको दिल दिमाग भेदन गर्ने सामथ्र्य राख्दछ ।
भूमिकामा कविले कविता चौबाटोमा उभिएको शालिक हो हेर्नेले आ–आफ्नै किसिमले ब्याख्या गर्नसक्छ भनि परम्परागत अस्त्र देखाई आफु चिप्लने बाटो राखेकाछन् । यस्तोे तर्कलाई कविहरुको चतुर्याइको रुपमा अथ्र्याउछु, म । तेतिबेला कतिपय कविको तर्क हुन्छ, तपाई बुद्धिबाजले हाम्रो ह्दयको कुरा बुझ्नुहुन्न । ठिकै होला तर यथार्थ के हो भने जताबाट हेरेपनि त्यसको आकार प्रकार बनावट भिन्नै देखिएतापनि मूल कुरा त्यो शालिक त हो नी । हो, अगाडिबाट हेरिदा त्यसमा पोतिएको रातो रंग देखिएला, पछाडिबाट हेर्नेले चेप्टो आकारमा उभिएको देख्ला । दाँयाले रातो र बाँयाले पहेंलो देख्ला । कसैले हात देख्ला कसैले खुट्टा मात्र देख्ला । तर जसले जसरी र जताबाट हेरेपनि त्यो शालिक नै हो । कसको हो त्यो शालिक ? फलामको कि काठको ? त्यसका अनेकन आयाम हुनसक्लान् तर त्यो शालिक हो । त्यसलाई तपाई खम्बा हो भन्न पाउनुहुन्न । भन्न खोजिएको के हो भने कविताले निर्दिस्ट गरेको मूल तत्वलाई जे र जसरी पनि ब्याख्या गर्न पाईन्छ भन्न पाईंदैन । अर्थात शालिकलाई खम्बा भन्न पाईंदैन ।
यहाँ अज्ञातजीले मैले गरेको कमेन्टलाई त्यहि परम्परागत शास्त्रीय तर्क देखाई पन्छाउन सक्नहुन्छ तर हामीले के विर्सनु भएन भने मूल विषयबस्तु र त्यसको स्पिरिट के हो त्यस उपर गरिने ईमान्दार छलफलले नै सहि बाटो निर्दिस्ट गर्छ । यहाँ एउटा कवितामा कविले ईतिहासलाई अपब्याख्या गरिदिएकोले यत्रो भूमिका बाँड्नु परेको हो ।
critics socoety1

तमोर खोलाको तीरैतीर
उहिलेउहिले च्याब्रुङ बजाउँदै
जब हिंड्थे किरातेश्वर उँभो उँभो
तब पनि थियो लिम्बुवान
समयको आयु सकेर
आकाशगङ्गाबाट एक एक तारा
जब खस्नेछ शून्य/ब्ल्याक होलमा
तब पनि रिहिरहनेछ लिम्बुवान
लिम्बुवान एउटा स्वत्व हो जीवनको
अमर, अजर,अनन्त, अविनाशी
यो जगाा केहि नहोस्
प्राणी वस्तुतत्व
तर पनि हुन्छ लिम्बुवान
किनभने लिम्बुवान स्वत्व हो जीवनको
(लिम्बुवान)

स्वदेशमा चलेको लिम्बुवानी आन्दोलनले एउटा कवि कति भावात्तेजक भैदिएछन् भने तिनले लिम्बुवानलाई स्वत्व घोषणा गरिदिएकाछन् । किरातेश्वर अर्थात हिन्दुधर्मले चिन्ने महादेवकै पालादेखि लिम्बुवान अस्तित्वमा थियो भनि घोषणा गरिदिएकाछन् । जुन गलत हो ।
तपाईं भविष्यको कल्पनामा बिचरण गर्नसक्नुहुन्छ र लागेको उद्घोष पनि गरिदिन छुट छ । जस्तै यहाँ कविले लिम्बुवानलाई ‘अजर–अमर‘ घोषणा गरिदिएकाछन् । तर ईतिहास त ईतिहास हो । तेसमा चाहिं यताउति गर्दा कविले संवेदनशील हुन जरुरी छ । ईतिहास नै कविको घोषणाबाट बन्न र लेख्न थाल्ने हो भने हामीले जनपहिचान ध्वस्त पार्ने ‘राजा महाराजाहरुको झुठा’ इतिहास भन्दै सत्तोसराप गर्दे कुनैपनि ईतिहासको काँधमा बन्दुक राखी बर्तमान राज्यसत्ताको निधारमा गोली ताक्न पाईदैन ।  तर कविता यति मिठास छ कि त्यसको सौन्र्यले यस्ता त्रुटीहरुलाई अचेंटीदिएकोछ ।
एक ठाँउमा कविले शासनसत्ताले आफ्नो डिलिट गरेको इतिहास भुल्न नसक्ने शब्द यसरी उकेरेकाछन् –
कि मैले मेरो फेसबुकको स्टाटसबाट
तिमीलाई पिरोल्ने थोकहरु डिलिट गर्दापनि
तिम्रो मन मस्तिष्कबाट डिलिट भएनछ
मेरो सस्तो र अलोकप्रिय शब्द सन्जाल
हो, त्यसरी नै
तिम्रो ईतिहासले
विक्रम सम्बत १८३९ डिलिट गर्देमा
कहाँ बिर्सिन्छु म
मेरो मन मस्तिष्कमा लागेको छाप ?
( म बिर्सन सक्दिन )
तर शासकले ईतिहास डिलिट गरे भन्दैमा आफुले पनि बदमासी गर्नु त भएन नी भन्ने मेरो तर्क हो । सिर्जनशील अराजकता आन्दोलनको मूल मर्म पनि तेहि हो भन्ने मेरो बुझाई हो ।
एन एकाउन्ट अफ द किङडम अफ नेपाल (हेमिल्टन सन १८७४) अनुसार, छठौ शताब्दि सम्म लिम्बुहरुले आफुलाई याक्थुङ्वा र राज्यलाई याक्थुङ् लाजे भन्दथे । किराती लेखकको उपमा पाएका ईतिहासवीद ईमानसीह जेम्जोङले इसा मसीहको मृत्यु भएको ६०० बर्षपछि किरातहरुबीच आपसी झगडा भएपछि लिम्बुवान राज्यको स्थापना गरेको लेखेकाछन् । लिम्बु भाषामा लिम्बुवानको अर्थ धनुवाणले जितेको देश भनिएकोछ । पृथ्विनारायण शाहको पालामा (१७७४ मा ) भएको सन्धिपत्रमा ‘राय लिम्बु मात्र लेखिएकोछ । अर्थात, लेखकले उल्लेख गरेजस्तो ‘उहिले लिम्बुवानको भौतिक अस्तित्व भेटिदैन ।
तेहि अपगालबाट बच्न होला उनले लिम्बुवान लाई ‘स्वत्व’ को रुपमा आध्यात्मिककरण गरेकाछन् । एउटा लेखकले आफ्नो जातिको लागि भन्दै त्यो स्तरको ‘बदमासी’ गर्न मिल्छ कि मिल्दैन ? कम्तिमा हाङयुग जस्ता प्रतिद्धन्द्धिको नाकमा औंला ठड्याउने लडाकालाई चाहिं यति तल्लो स्तरको प्रोपोगाण्डा जँच्दैन । यसले उनैको श्रृबृद्धिलाई चिमोट्छ, कोतर्छ ।
………………………………….
कवितामा प्रयोग भएका विम्व र पात्रहरु विश्व ईतिहास र समकालिन राजनीतिबाट उद्दरण गरिएकाछन् । यसले कविको ज्ञानको फराकिलो क्षेत्र दर्शाउँछ । तर कतिपय प्रसंग र सन्दर्भमा ति पात्रको चयनले विरोधाभास श्रृजना गर्छन् ।
ओ । मेरो जोकास्टा आमा,
तिमीले धेरै जन्मायौं
महामूर्ख पुरुषहरु
खोपडीहरु दरबारमा बस्ने
इदिअमीन जन्मायौं
मृत्युभूमीमा रगतले नुहाउने
पोलपोट जन्मायौ
नश्लवादले बहुलाएर
यहूदीहरुका यमराज बन्ने
हिटलर जन्मायौ
(मेरो जोकास्टा आमाको समर्थनमा )
……………….
यसमा दुष्ट पात्रको रुपमा प्रयोग गरिएका तीन पात्र एडोल्फ हिटलर, इदि अमीन र पोलपोट को बडो बुद्धिमतापूर्वक चयन गरिएकाछन् ।
युगाण्डाका तेश्रो सैनिक तानाशाह राष्ट्रपति ( १९७१–१९७९ ) इदि अमिन इस्लामिक कट्टरतावादी उन्मादी शासक थिए । झट्ट रिसाउने मानसिक रोगी यी पात्रको सनकले ८ बर्षको शासनकालमा ५ लाख मान्छेले बलि दिनुपर्यो । बेलायती उपनिवेश छँदा बेलायती सेनामा भर्ना भएका सन १९२५ मा जन्मिएका यी सन्काहा ७८ बर्षको उमेरमा सउदीमा मरे ।
तेसै समयमा कम्युनिष्ट पृष्ठभूमीबाट उदाएका कम्बोडीयामा अर्का तानाशाह पोलपोट (खमेर रुज) ( १९७६–१९७९ ) को इदी अमिनसंग धेरै समानता छ । यी दुबै एकै साल जन्मिएकाहुन् । दुबै सैन्य तानाशाह हुन् । यिनको मृत्यु पनि ७२ बर्षको उमेरमा आत्महत्या गरि भएकोथियो । शुरुमा पोलपोट कम्युनिष्ट पार्टी कम्पुचियाका महासचिव थिए । यिनले ४ बर्षको शासनकालमा ८ मिलियन जनसंख्या भएको कम्बोडियामा करिब ३ मिलियन मारेर सकाएको ईतिहास छ ।
संसारमा देउताले राज गर्न पठाएका आर्यलाई उछिनी यहुदीहरुले विश्वमा राज गर्न थाले भन्दै तिनको वंशबिनासमा लागेका एडोल्फ हिटलर ( १९३४–१९४५ ) पनि सैन्य तानाशाह हुन् । यिनले पनि माथिका तानाशाहले जस्तो लामो शासन गर्न पाएनन् । यी तानाशाह कम्युनिष्ट विरोधि पनि थिए । सन १८८९ मा जन्मिएका हिटलरले थालेको आर्य सर्वाेच्चताको युद्ध संखनादमा ५.५ मिलियन मान्छे मारिएकाथिए । तेसमा निरिह बच्चाहरुको संख्या पनि उल्लेख्य थियो ।
हिन्दु धर्म मासिन थाल्यो र सत्तामा क्षेत्रीले आधिपत्य जमाउन थाले, बाहुन बहिष्कृत हुन थाले भन्दै बन्चरो बोकेर क्षेत्री सखाप पार्न निस्केका हिन्दु शास्त्रमा बर्णित उ बेलाका बाहुन युवा परशुरामको आधुनिक संस्करण थिए , हिटलर । ४४ बर्षकै उमेरमा मरेका हिटलर परशुरामबाट खुब प्रभावित जस्ता देखिन्छन् । यीनले पाखुरामा हिन्दु स्वस्तिक चीन्ह लगाई युद्ध मैदान छिचोल्थे । माक्र्सले विश्वका मजदुर एक हौं भने झैं यिनले विश्वका आर्य जाति एक हौं भनि नश्लीय संखघोष गर्दथे ।
यी तीनमा समानता छ । हिटलर नश्लीय तानाशाह, पोलपोट रेडबुक दिक्षित नरसंहारक र इदि अमिन धार्मिक आततायी थिए । कविले यी तीनलाई मूर्ख भनेकाछन् । तर यी तीनजना मूर्ख हैन उन्मादी थिए । मूर्खलाई राजनीतिक चेत नहुनपनि सक्छ तर यी तीनमा राजनीतिक चेत प्रशस्त भेटिन्छ ।
तर कविले माथिको कवितामा खँुखार रुपमा चित्रित गरिएका यी पात्रलाई भने अर्काे कवितामा ब्यूताएर मानव रक्षकको रुपमा ल्याउन मन्त्रोच्चारण गरेकाछन् । बुद्धिले देउता काट्न र मान्छेका कथा लेख्न उनैले अगाडि चित्रित गरिएका यी बुद्धि नभएका  ‘राक्षस’  ‘दुष्ट’  हरुको जिम्मा लगाईदिएकाछन् । यस कवितामा आदिवासी राजा वलिहाङलाई बिष्णुले छल गरि पाईतलाले धरतीमा धँसाईदिएको ईतिहासलाई उल्टाउन खाजेकाछन् । कवि बिष्णुलाई त्यसैगरि धरतीमा गाड्न वलिहाङलाई ब्यूताँउदैछन्, त्यसका निम्ति यी तीनलाई डाक्नु चाहिं विरोधाभास लाग्छन् –

देउ/ताहरु काटेर बुद्धिबलले दुई टुक्रामा
यहाँ मान्छेको कथा लेख्नु
म बोलाउँछु फेरि हिटलर इदिअमीनहरु
आओ । आओ ।
ब्यँुतेर मनको चिहानबाट लप्लपाउँदै ज्वाला
खानु छ इतिहासको मुकुन्डोबाट
कलिला अवतार नानीहरुको सातो

पातालबाट निसिकएकोछु
गङ्गाजल तीतेपातीले छर्किदै
मूर्छित आत्मजनहरुको अनुहारमा

बलिहाङको उभ्यूदय
एउटा कायर षड्यन्त्रबिरुद्ध
अर्काे मुठ्ठीभरिको रातबिरुद्ध
म बलिहाङको उभ्युदय )

ईन्दिरा गान्धी सहि ?
अर्काे एउटा पात्र (मेरो जोकास्टा आमाको समर्थनमा ) चयन पनि मेरा लागि आश्चर्यमा पार्ने खालकोछ ।
तिमीले जन्माईसकेकी छौ
बिना सम्भोग वीर्यवान पुरुष
एउटा यस्तो कुपुत्र
जसले सधैं मार्छ इन्दिरा गान्धी
थुन्छ आङसाङ सुकी
डाम्छ इमा गोल्डमेन
र पढाउँछ धर्मका पाठहरु
म हिंसाको पक्षपाती पटक्कै होईन । तर इन्दिरा गान्धीको हत्याको पछाडीको राजनीति नबुझी उनलाई मार्ने पात्रलाई सुपुत्र र कुपुत्रको उपमा भिराउदा त्यसको प्रभाव र असर सहित औचित्यताको जाँच हुनुपर्छ । यसमा इन्दिरालाई सहि र उनको हत्या गर्ने दुई सीख अंगरक्षकलाई कुपुत्र देखाईएकोछ । यसमा भावुकता प्रधान्य देखिन्छ ।
ईन्दिरा गान्धीले पन्जाबमा उठेको स्वायत्त राज्य खालिस्तान आन्दोलनको बलमा जन्मिएको अकाली दलले पन्जाबमा बलियो भएपछि इन्दिरा गान्धीले अकालीलाई साईजमा ल्याउन उग्र जैलसिंह भिन्द्रावालेलाई हतियार सहित राजनीतिक संरक्षण दिएकि थिईन । नेपालमा माओवादीलाई तह लगाउन प्रतिकार समितिलाई हतियार दिए जस्तै । एक मधेस प्रदेशलाई सन्तुलन गर्न थारु स्वायत्त ( लक्ष्मण थारुको आक्रमक) प्रदेश उठाइए जस्तै ।
तर जैलसींह बलियो हुदै गएपछि स्वायत्त र पृथक जातीय राज्य मागलाई चर्काए । उनी बलियो भएपछि ईन्दिरालाई नै टेर्न छाडे । उनले नेहरुको पालमा बनेको नयाँ देश पाकिस्तानसंग मिल्न जाने सम्मको धम्की दिन थाले । तेसैले ईन्दिराले भिन्द्रावालेलाई ‘कानुन सिकाउन’ ३ जुन १९८४ मा सेनालाई ज़िम्मा दिईन् । ब्लुस्टारको नामले ईतिहासमा कलंकित त्यो नरसंहारमा जैलसींह सहित ४९२ जना’ उग्रवादी’ मारिए भने ८३ सैनिकले ज्यान गुमाए । कयौं घाईते भए । मर्नेमा सर्वसाधारण बढ़ी थिए भनिन्छ । भिन्द्रावाले मारिए तर  गान्धीको शहमा हुर्किएको हिंसा भने साम्य भएन ( माओवादी बाईप्रडक्ट हतियारको राजनीति जस्तै ) त्यसमा मिसिएको पहिचानको भावनाले त्यसलाई झन बढ़ी आक्रामकता दियो ।
पवित्र मन्दिरमा सिख जनता मारेको भन्दै त्यसैको बदला लिन अंगरक्षकले ईन्दिरालाई गोली हानेकाथिए । यतिमै सकिदैन । तेसपछि सिख समुदायलाई घरघरबाट निकालेर मार्ने अभियान नै छेडियो । त्यसपछि बनेको सरकारले २४ घण्टामा देशभर सिख मार्न एक खालको छुट नै दिईयो । त्यसलाई भारतको ईतिहासमा जातीय संहारको रुपमा हेरिन्छ ।
तेसैले पहिचानकै संघर्षमा होमिएका कविले पहिचानको संघर्ष गर्नेहरुलाई सैन्य दमन गर्दा ठिक भन्नु सिद्धान्ततः गलत ठहर्याउन सक्छन्, पाठकले । न्यायिक रुपमा विश्लेषण गर्दा पनि दुई जना सिखले गरेको गल्ति सबैलाई दिने मत्स्य न्यायलाई पनि समर्थन दिएको जस्तो हुन जान्छ ।
त्यसैले मिथक, विम्व र पात्रहरुको सहि ठाँउमा कसरी उपयोग गर्ने भन्ने ज्ञान लेखकमा झन बढी चाहिने देखियो । नत्र अर्थको अनर्थ लाग्ने डर हुने भो । आफ्नो मान्यता र दर्शन विपरित हुन जाँदा पनि हेक्का नरहनेभो ।

खतरनाक सत्ताः श्री ६ महाराज
नेपालमा धेरैले मन पराएको (मेरो जोकास्टा आमाको समर्थनमा ) कवितामा अर्काे एउटा प्रसंग छ – श्री ५ अर्थात बिष्णुको कलियुगी अवतार नेपाली राजाहरुको ताज श्रीपेँचको ।
महाबाणी !
ओ । मेरो जोकास्टा आमा
अब म तिमीसित बिहे गर्छु
र टाइरासीयस बुढोको छाला काढेर
एकजोर जुत्ता सिलाउँछु !
– श्री ५ हाङयुग अज्ञात
यसमा कविले ग्रिस मिथक प्रयोग गरेकाछन् । आफ्नै छोरासंग बिहे गर्नु परेको जोकास्टा लाई प्रमुख पात्र बनाएकाछन् । टाइरासीयस राखिएकोछ । पात्र चयन ठिक छ । तर राजाको श्रीपेच ( श्री५ ) खोसी आफ्नो टाउकोमा लगाउन खोज्ने अर्थात सत्ता हस्तान्तरण चाहने कविको आफ्नै परिवेश ( पूर्वीय दर्शन) चाहिं कम बुझेकाहुन् कि भनि प्रश्न उठाउने ठाँउ दिएकाछन् ।
राजतन्त्रको अन्तिम घडीमा लेखिएको यो कविताले त्यतिबेला वाहवाही पाउनुको कारण बुझ्न सकिन्छ । औचित्य पनि थियो होला तर उनले पहिरिन खोजेको श्रीपेंचभित्र लुकेको पहिचानको राजनीति ( दर्शन) को गहिराई भने भेट्न सकेका छैनन् । श्री ५ को उत्पत्तिको श्रोत हिन्दु दर्शन हो । राजालाई बिष्णुको अवतारको रुपमा लिईएको र धर्मगुरुहरुले ‘आफ्ना’ राजालाई दिईएको ताजपोश श्री ५ को विशेष अर्थ रहेकोहुन्छ ।
बर्णाश्रम ब्याख्या र ब्यवस्था अनुसार क्षेत्रीले राज गरेपनि त्यो सत्ताको वास्तविक मालिक श्री ६ हुने गर्छन् । श्री ६ अर्थात राजालाई सत्तासंचालनमा बौद्धिक निर्देशन दिने राजगुरुहरु । ति भन्दा माथि पनि हुन्छन्– श्री १००१ हरु । यो पद प्राप्त गर्न बिशुद्ध आर्य रक्त (उपाध्याय बाहुन) र निश्चित शिक्षा आर्जन गरेको बौद्धिक हुनैपर्छ । तिनको आदेशबिना पात पनि नहल्लने ब्यवस्था धर्मशास्त्रमा गरिएकोछ । पात हल्लाउन खोजिदा ईतिहासमा परशुरामहरु जन्मिएकाछन् । शंकराचार्यहरुको उत्पत्ति गराइएकोछ । त्यसैले सत्तामा हालीमुहाली हुँदा समेत राणाहरुले श्री ५ लेख्ने आँट कहिल्यै गरेनन् । यो सत्ता दर्शन बुझेकालाई राम्ररी के थाहा छ भने बुद्धिले चल्ने श्री ६ ले चाहेमा बिष्णुको अवतार पुरुषोत्तम रामलाई समेत ‘ स्वर्गमा गादी खाली भो महाराज’ भनि सरयूँ नदिमा हाम फालेर मर्न बाध्य पार्ने हैसियत राख्छन् ।
अहिले देशमा गणतन्त्र आएकोछ । राजतन्त्र छैन । तर श्री ६ हरु झन बलियो भएकाछन् । तिनलाई सन्तुलन गर्ने श्री ५ हरु नभएकाले तिनको मनोमानी बढिरहेकोछ । त्यसैले सत्ता परिवर्तन भएतापनि ( श्री५ हरु गएतापनि) राजकाज तीनै श्री ६ हरुको नियन्त्रणमा रहेकोले धेरै बर्षसम्म देशमा संघीय गणतन्त्रमा हुने भनिएका परिवर्तन हुन धेरै गाहे छ । हो, कलियुगी बिष्णुको श्रीपेच आफ्नो टाउकोमा लगाउने दुस्साहस गरिनु पनि साहसिक कदम नै होला । तर मूल कुरा के बुझ्नुपर्यो भने यो एउटा निश्चित (हिन्दु दर्शन शास्त्र) ले राजकाज चल्ने हँुदा श्री ५ को पगरी हाङयुगले लगाउँदैमा उनले सोंचेजस्तो नेपाली बगैंचामा बहुरंगी फुल ढकमक्क हुने कल्पना यथार्थमा परिणत हुन संभव छैन ।
मैले माथि नै भनिसके कवि स्वंय श्रृजनशील अराजकताको नाममा आवाजविहिनहरुको आवाज बनिदिन फेटा गुथेर मैदानमा उत्रिएकोले उनी स्वंय आन्दोलनकारी हुन् । लडाका हुन् । नेपाली साहित्यमा स्थापित मान्यताको उल्टो मानक, मिथक, विम्व र बिचार बोकेर हिंड्ने हाङ्युग जस्ताहरुको संख्या अत्यन्त न्यून छ । तिनले बोक्ने समाज बिशाल छ तर उनलाई बोक्ने काँध थोरै छन् । उनका नायकहरु मस्त चीरनिद्रमा छन् । त्यसैले उनीमाथी हुने चौतर्फी आक्रमणबाट जोगिन उनका लागि ठूलो चुनौती हुनेछ । उनले पैठेजोरी खोजिरहेका सत्तारुपी अजंगको पहाडसंग नठोक्किई आफुलाई बचाउँदै त्यो पहाडमा छेड गरि राजमार्ग कोर्न तिनका लागि सहज छैन ।
अगाडि बढ्न उनलाई बौद्धिक शस्त्रको आवश्यकता बेस्मरी छ । मगज बढाउने स्वस्थ विमर्शरुपी सन्तुलित भोजन, अध्ययनको पौष्टिक तत्व र समाजलाई बुझ्ने बैज्ञानिक आहार–विहार उनका निम्ति नभै नहुने प्राथमिक तत्व हुन् । भनिन्छ, तपाईंसंग आत्मविश्वास छ भने असम्भव केहि छैन । अज्ञातका नायकहरु उनका उद्देलित पार्ने कविताले चीर निद्राबाट जाग्दै तन्द्रामै मगमग बासना ( कस्तुरी ) को पछाडि दौडिएर खसिरहेकाछन्, लडिरहेकाछन् । केहि छन् जसले आफैभित्र अन्र्तनिहित त्यो तत्व बोध गर्न थाल्याछन् । हाङयुग भोलि के हुन्छन् कुन बाटो पक्रन्छन् तर जुन दिन सुतिरहेका मान्छेले आफुलाई चिन्न थाल्नेछन् त्यतिबेला बल्ल हाङयुगहरुले कल्पना गरेको ‘युग यात्रा’ प्रारम्भ हुनेछ –
हा– अर्काे मान्छेका निम्ति – स्वःहा !
ङ– अर्काे यात्राका निम्ति – स्वःहा !
यु– अर्काे ब्यवस्थाका निम्ति– स्वःहा !
ग – अर्काे समाजका निम्ति – स्वःहा !
अ– अर्काे पाठशालाका निम्ति – स्वःहा !
ज्ञा– अर्काे मान्यताका निम्ति – स्वःहा !
त – अर्काे चिन्तनका निम्ति – स्वःहा !
( आत्मदाहको भान्साघरभित्र)

( समिक्षक समाजले १४ सेप्तेम्बर २०१४ का दिन आयोजना गरेको साहित्य लेखनमा प’स्तक अध्ययनको महत्व विषयक कार्यक्रममा जेवी पुन मगरले हाङयुग अज्ञातको ‘करङको हिरासत ‘ माथि गरेको २ घण्टा लामो विवेचनाको सम्पादित रुप । 

No comments:

Post a Comment