Saturday, October 18, 2014

दोस्रो इपिसोड "पुस्तक विमर्श" कार्यक्रम - हाङ्युग अज्ञात

क्रीटिक सोसाइटी [समिक्षक समाज]को हिजोको दोस्रो इपिसोड "पुस्तक विमर्श" कार्यक्रम जोर्डन फेरी स्ट्रीट अवस्थित "लिटल बड किन्डर गार्डन" स्कूलको हलमा संगीतकर्मी, साहित्यकार र साहित्यप्रेमीहरूको बीच हेम लावतीज्यूको संयोजकत्वमा सु-सम्पन्न भएको छ। निशुल्क हल उपलब्ध गराइदिनु हुने शिक्षासेवी धन थापाज्यू र यो प्रबन्ध मिलाइदिनु हुने संगीतकार दिनेश सुब्बाज्यूलाई हृदयभित्रैबाट धन्यवादका कहिले नओइलिने पुष्पगुच्छा अर्पण गर्दछु ।

उहिले नै साहित्यिक वेब पत्रिका सिर्जना डट कमका सम्पादक रहेर हङकङको नेपाली साहित्यमा उल्लेखनीय योगदान पुर्‍याइसक्नु भएका रविन राईसँग मेरो सम्बन्धको नवीकरण भयो यो पछिल्लो समयमा र उहाँकै अनुरोधमा फेरि हङकङको नेपाली साहित्यमा सक्रिय हुने प्रयत्न गरिरहेको छु । "तपाईंबाट हामी सबैले साहित्यिक सक्रियताको अपेक्षा गर्दछौं" रराज्यूले यसो भन्नुहुन्छ जब म थाकेको अभिव्यक्ति दिन्छु । यस्सैमा आदरणीय दाई हेम लावती[हेला]ज्यू थप्नु हुन्छ "तिमी हाम्रो कुलपति नै भयौ ल जा । गाउँ गएर प्रधानपन्च हुने सपना नपाल त सुसा, यत्ति भनेपछि सक्किगो नि ।" अनि यस्तो कुराले उर्जा भरिन्छ मनमा र साहित्यिक दौडधुपमा समय खर्चिरहेछु ।

यसरी ररासितको संबन्ध नविकरणले लोकप्रिय पत्रकार, समिक्षक जेबी पुन मगरज्यू, कवि फोटोग्राफर नेत्र जुनकीरीज्यू, मुटु सम्राट कवि समर गुरुङज्यू, कवि गायक निरज राईज्यू, विचार विश्लेषक छेवाङ लामाज्यू र अन्य नयाँ नयाँ व्यक्तित्वहरूसित भेट्ने विचार आदान प्रदान गर्ने अवसरहरू प्राप्त गरिरहेछु । २००४ सालमा गीतकार टंक सुब्बाको गीति एल्बम 'मनोभाव'को विमोचन समारोहमा भेट भएको आदरणीय संगीतकार, गीतकार दिनेश सुब्बा [ दिनेश दाई - दिदा ] लाई बल्ल यो बेला आएर बुझ्न थालेको छु । महान् व्यक्तित्वहरूलाई बुझ्न उहाँहरूको विचार सुन्नु पर्छ, उहाँहरूको कथा सुन्नु पर्छ । यो पछिल्लो समयमा मलाई लाग्दैछ दिदा [ दिनेश दाई ] नेपाली गीतसंगीतको यौटा यस्तो महत्त्वपूर्ण किताब हुनुहुन्छ जस्लाई अध्ययन नगरी हामी लेखकहरू पनि अधुरो हुनेछौं । हजार पृष्ठको किताबमा हिजो समिक्षक समाजले दिदाको एक पृष्ठ पल्टाउन सफल भयो, हामीले दिदाबाट अम्बर गुरुङलाई "कहाँ गए ती दिनहरू" मा सुन्यौं । दिदालाई सुन्ने बुझ्ने धित् किन मर्थ्यो बरु अझै सुन्ने अझै बुझ्ने नयाँ अध्याय सुरु भएको छ मेरो लेखकीय जीवनमा । हेलाल्यूले त मुटु नै झिकेर टेबलमा राख्नुभयो-"दिनेश दाई, हजुरको कुरा सुनेर मलाई फेरि १९ वर्षको ठिटो भएर तपाइँको पाठशालामा टुक्रुक्क बस्न मन लाग्यो ।"

हिजोको कार्यक्रममा निक्कैवटा विशेष कुरोहरू देख्न पायौं । उपस्थिति प्रथम इपिसोड भन्दा धेरै र नयाँ अनुहार थिए ।
गायक ज्ञान सुब्बाज्यू, कवि, गीतकार तथा रेखा साहित्यका प्रवर्तक टंक सुब्बाज्यू, कवि तथा विसंगति विचारका प्रवाहक डिबि पालुङ्वाज्यू, सिनेकर्मी सुमन वनेमज्यू, बौद्धिक व्यक्तित्व श्याम इङ्नामज्यू, गायक राजु आङ्देम्बेज्यू, गायक भूपेन्द्र योङ्या [ बिरामी भएर पनि उपस्थित हुनु भयो ]ज्यू, गायिका कला चेम्जोङज्यू, गायिका रोशा लिम्बूज्यू, गायिका शारदा गुरुङज्यू, कवि मगेन्द्र राई [ उहाँ प्रोफेसनल टेनिस प्रशिक्षक पनि हुनुहुन्छ ]ज्यू , गायक कवि राईज्यू, कवयित्रीद्वय शान्ति पन्धाक र निलु पन्धाकज्यू, भीम थापा र विजय सुब्बाज्यू जस्ता व्यक्तित्वहरूको उपस्थिति हिजोको कार्यक्रमका विशेष अनुहारहरू हुन् । कवि टिबी याक्खा, कवयित्री मनु कन्दन्ङ्वा, चाउचाउ साहित्य प्रवर्तक कवयित्री कविता राई, अङ्ग्रेजी साहित्यकार रेणु राई, कवि समर गुरुङ, बालकवि रची राई प्रथम इपिसोडकै अनुहारहरू हुन् ।

मलाई गज्जब लागेको चैं के भने यी सानी बालकवि रचीजीले कविता राई [करा]ज्यूको आधा घण्टा लामो अङ्ग्रेजी पुस्तक "प्रीन्सेस डायरी"को अङ्ग्रेजी समिक्षा कस्तो एकाग्रताका साथ कान ठाडो पारेर सुनिन् भने मलाई लाग्यो कि रचीजी हाम्रो अर्को पुस्ताको "रोल मोडल" बन्न सक्ने अनुमान गरें । जेबीज्यूले पनि अर्को खेपबाट साहित्य लेख्ने नेपाली विद्यार्थीहरूलाई आमन्त्रण गर्ने र हाम्रो आगत पुस्तासित गाँसिने विचार व्यक्त गर्नु भयो । कन्ठाग्रै नेपाली कविता भन्न सक्ने यी बालकवि रचीजी हाम्रो अर्को पुस्ताको उज्यालो हुन् ।

क्रीटिक सोसाइटीका संयोजक हेम लावतीज्यूको कुशल संयोजन र जेबीज्यूको सुझबुझपूर्ण सल्लाहले हङकङमा हामी निश्चितरूपमा भाषा, साहित्य, गीत, संगीत, कला, संस्कृति इत्यादि विषयहरूमा महत्त्वपूर्ण र अमूल्य पाइलाहरू चालिरहेका छौं । आशा छ हाम्रो यो तत्परता र जागरुकताले हङकङको नेपाली समाजकै विकासमा उल्लेखनीय योगदान पुग्नेछ । धन्यवाद ।

No comments:

Post a Comment