About Us

तिख्खर र निख्खर लेखनको ईतिश्री

‘कला-साहित्य बिनाको मान्छे सीङ न पुच्छर बिनाको पशु’ आहान स्थापित देश र जातिसंग स–सर्ग गरिरहेका हङकङेली नेपाली समूदायलाई स्थानीयसंगको सानिध्यता अवसरसंगै भब्य चुनौती पनि हो । समुदायको स्तरमापन त्यो समाज भित्रको ‘साहित्य, संस्कृति र कला’ अर्थात बौद्धिक कर्मको स्तरमा नापिन्छ भनिन्छ । त्यसले समाज कत्तिको सु–शिक्षित, सु–संस्कृत र बौद्धिक छ भन्ने खुट्याईन्छ ।

हङकङमा नेपाली साहित्यको सम्बृद्धि र श्रीबृद्धिका निम्ति थालिएका अभियानको राजमार्ग लामो छ । हो, बिछ्याईएका अलकत्रा, गिटी, बालुवा, सिमेन्टहरु उछिट्टिएर चिल्ला राजमार्ग खपटे भए होलान्, तर त्यस राजमार्गले साहित्यिक साधनहरुको बोझलाई अद्यापि धानिरहेकोछ । विभिन्न संगोष्ठि, सम्मेलन, पुस्तक÷पत्रिका प्रकाशन, लेखन जस्ता साहित्यसंग प्रत्यक्ष÷परोक्ष सरोकार राख्ने उपक्रमहरुले हङकङेली नेपाली साहित्य भण्डारमा खजाना थप्ने काम भैरहेकोछ ।

हङकङमा राम्रा साहित्यिक हस्ताक्षरहरु छन् । तर के हङकङेली साहित्य लेखनको गुणस्तरले पनि त्यो स्तर दावी गर्ने हैसियत बनाएकोछ ? हङकङमा भैरहेको साहित्यिक विमर्शले त्यो स्तरबृद्धिमा कतिको ठोस कार्य गर्नसकेकोछ ? आत्मसमिक्षा जरुरी भैसकेकोछ ।

साथीसंगी रिसाउलान्, ठुस्केलान् भन्दै साहित्यकर्म गरिरहेका क्षमतावान पूराना हस्ताक्षर र नयाँ उर्जावानहरुका प्रयासलाई ‘वाह–वाही’ भन्दै उल्काएर मात्र लेखन गुणस्तर उकासिदैन । बरु त्यसले साहित्य अधोगतितीर लम्किन्छ । कतै यसो गरेर जानअन्जान हाम्ले आफ्नो श्रृजनशीलतालाई भुत्ते बनाउँदै त लगिरहेकाछैनौ ? किनकी हामी देखिरहेकाछौं– स्वस्थ रुपले कमीकमजोरी न औंल्याईदिएर, विवेचना नगरिए र बाटो नदेखाईदिएकै कारण कतिपय साहित्यकारहरु भ्रम बोकेर बाँचिरहेकाछन् । ति स्वस्थ आलोचना सुन्न समेत तयार छैनन् । त्यसले क्षमतावान स्वंय ती लेखककै तेजोबध गरिरहेकोछ । त्यसको दोष हामी सबै साहित्यकारहरुले लिनुपर्दछ ।



सो–द्देश्यमूलक लेखन

साहित्यकार समाजका पहरेदार हुन् । तिनकोे लेखन खबरदारीले ब्यक्ति, समाज र सत्तालाई गलत बाटोमा पस्नबाट रोक्ने सामथ्र्य राख्दछ । तेसैले समाजमा कस्तो साहित्यको प्रवद्र्धन भैरहेकोछ समाज त्यसरी नै हिंडिरहेको हुन्छ भन्ने विश्वास गरिन्छ । केहिले समाज जस्तो छ, साहित्य पनि त्यस्तै हुन्छ भनि गल्तिको घनटाउको लुकाउन खोज्दछन् तर त्यो सरासर बदमासी हो । साहित्य लेखनबाट निस्किएका अक्षरहरु यस्ता शक्ति हुन् जसले समाजलाई यथास्थितिको चकटीबाट अग्रगमनको पाङ्ग्रामा गुडाईदिने उर्जाबल प्रदान गर्दछ । हामी हङकङमा त्यस्तो समाजको कल्पना गरिरहेकाछौं ।

साहित्यकार बलियो हुन मगज बढाउने स्वस्थ विमर्शरुपी सन्तुलित भोजन, अध्ययनको पौष्टिक तत्व र समाजलाई बुझ्ने बैज्ञानिक आहार–विहार पहिलो शर्त हुन आँउछ । अब हामी मुटुमा हात राखी आफ्नो नापतौल शुरु गरौं – हामी छौं कहाँ ? के हामी बौद्धिक आर्जन गर्न यी ब्यायाम÷योगा गरिरहेकाछौं त ? देख्छौं, अँह पटक्कै छैन । हामी फगत फोस्रो आडम्बर र भ्रमको तुँवालोमा यसरी रुमल्लिईरहेकाछौं कि समाज कता गैरहेकोछ र म कता दौडिरहेकोछु भन्ने आत्मबोध समेत हराईसकेकोछ । अनि, त्यस्ता बेहोसी साहित्यकारको नीवबाट निस्किएको कलमले कसरी गर्ला समाजलाई दिशानिर्देश । छ्याकटे लेखकले कसरी कला, संस्कृति, राजनीति, धर्म–बिज्ञान र साहित्य लेखन जस्ता गम्भीर विधाभित्रका अजंगका त्रुटी र विरोधाभासहरुमाथि औंला उठाउन सक्ला ? यहि चिन्तनले समिक्षा समाजको आवश्यकताबोध गराएको हो ।

नेपाली समाज, भाषा, राजनीति, धर्म, बिज्ञान, विश्व राजनीति र दर्शनहरुमाथि आत्मविश्वासका साथ तार्किक कैंची चलाउन सक्ने बौद्धिक लडाका ( समिक्षक) हरुको रणकौशलले बचाउँछ समाजको अस्तित्व र उकास्छ त्यसको वैभवता । अध्ययनले निख्खर र तिख्खर लेखक जसले समाजका पत्र–पत्र केलाउने क्षमता राख्दछ, सचेत बैज्ञानिक दृष्टिकोणले घट्ना र बस्तुलाई हेर्न र पर्गेल्न सक्छ, हामी त्यस्ता लडाका’ उत्पादन गर्ने कारखाना तयार पार्ने हुत्हुतिका साथ यो बौद्धिक अभियानमा ‘‘ऐक्यबद्ध,सचेत र सक्रिय’ सोंचका साथ अगाडि आएकाहौं ।

यो अवधारणामाथि कसैको आधिपत्य छैन । सजग र सचेत बनाउने यो अभियानमाथि कसैको एकाधिकार छैन । यो समग्र हङ्कङेली बौद्धिक र कलमबाजहरुको मुटु हो, मगज हो । त्यसको समिश्रणबाट निर्मित एउटा पवित्र सो–द्देश्य हो जसमा कुनै वाद, धर्म, जात, क्षेत्र र लैंगिक ‘हिनता र उच्चता’ ले डुक्रन टुक्रन पाउनेछैन । प्रष्ट शब्दमा– कला, साहित्य र संस्कृतिको समृद्धि रुचाउने ब्यक्तिहरुको साझा फुलबारी हो,योे ।

हामी यथास्थितिपूर्ण नुर गिरेको समाज जस्तो लेखन हैन लेखकको वैश्विक चेतना सहितको अग्रगमन समाज निर्माणमा टेवा पुर्याउने तिख्खर कलमबाजको क्षमतामा विश्वास राख्दछौ । त्यसैले सचेत कलमबाजले नै  सच्चा रुपमा समाजलाई दिशाबोध गर्न सक्छन् भन्ने ठहर सहित तिनको बौद्धिक खुराक बढाउन प्रयत्नशील रहनेछौ ।



नेतृत्व गर्ने आत्मविश्वास

पत्रकार जेवी पुन मगरको परिकल्पना, कवि तथा गीतकार हेमकुमार लावतीको नेतृत्व, लेखक रविन राईको अह्नखटन र कवि हाङ्युग अज्ञातको विशेष सहयोगमा १४ सेप्तेम्बर २०१४ देखि यसले विधिवत आफ्नो शुभकर्म प्रारम्भ गरेकोछ । टिवी याक्खाको कविता सग्रह ‘आँधि रोकिएपछि’ माथि टिप्पणी गरिदिने गजलकार बज्रकुमार राई, भौतिक सहयोग मा हैंसे गरिदिने मगेन राई लगायत पहिलो कार्यक्रममै उत्साहपूर्वक सक्रिय विमर्शमा सहभागी भैदिनुभएका साहित्य, संगीत, मीडिया, कलाकारिताका दिग्गज तथा नवप्रतिभाहरुलाई हामी धन्यवाद दिन चाहन्छौं । तपाईंहरुको सक्रिय सहभागिताले हामी सहि मार्गमा रहेछौं भन्ने आत्मविश्लेषणले वैधानिकता प्राप्त गरेकोछ ।

हङकङमा बौद्धिक विमर्शका तिर्खालु र यस विधामा हस्तक्षेप हुनेहरुको कमी रहेनछ भन्ने यथार्थबोध कार्यक्रमपछिको झन बढी सक्रियता, उत्साह र कौतुहलतापूर्ण जाँगरले सिद्ध गरेकोछ । छिपेका हिराहरुको सार्वजनिकरण यसको अर्काे देखिने उपलब्धि हुन् । यति भएपछि हामी ढुक्क छौं – हङकङले  नेपाली भाषा,साहित्य, संगीत र कलामा आफ्नोपन छाड्न महत्वपूर्ण रोल अदा गर्ने नै छ । हामी अनुरोध गर्छौः आउनोस्, आफ्नो क्षमताको आत्मपरिक्षण गर्दे निख्खर र तिख्खर कलमबाज ( समिक्षक ) बन्ने बाटोमा हातेमालो गरौं । उन्नत समाज निर्माणमा बौद्धिक ईटा थपौं ।

संयोजक
हेमकुमार लावती
समिक्षक समाज

No comments:

Post a Comment