Tuesday, June 16, 2015

हङकङमा आहुतिको प्रवचन

हङकङ –

 यही जुन ५ तारीख समीक्षक समाजले आयोजना गरेको “आहुति संवाद” कार्यक्रममा आहुती अर्थात विश्वभक्त दुलालले “संघीयता, पहिचान र साहित्यमा जनजाति सौन्दर्य” बारे प्रवचन दिए ।



लेखक तथा नेकपा (ए माओवादी) का पोलिटब्युरो सदस्य आहुतिले संघीयतामा देश जाँदा कस्ता फाइदा हुन्छ, पहिचानको मु्ध्दा किन सबैको हितमा छ र नेपाली साहित्यमा जनजाति सौन्दर्य किन जरुरी छ भन्ने बारे करीब २ घन्टा धाराप्रवाह विचार प्रकट गरेर स्रोताहरुलाई प्रभावित गरे । संघीयताले गर्दा विकेन्द्रिकरणमा सहयोग पुग्ने जसले गर्दा स्थानीय तहमा हरेक समस्यालाई सम्बोधन गर्न सकिने उनको दाबी थियो भने पहिचानले राज्य ब्यवस्थाको कारण दमित जातजातिहरुको मनोबल बढ्ने र समग्रमा राष्ट्रको हित हुने उनको विचार थियो ।


“अहिले नेपालमा जातीय राज्य छ किनभने राज्यले निश्चित जाति र धर्मलाई प्रश्रय दिएको छ, त्यसको बदलामा सबै जाति र धर्मले समान सुविधा पाउनुपर्छ । हालैको भूकम्पले जाति भनेन वर्ग भनेन भन्ने कुरा गलत हो, सबैभन्दा बढि कुन जाति मरे? राज्यले मासिन्या मतवाली भनेर तोकेको तामाङ मरे, कुन वर्ग मरे ? भन्दा बलियो घर बनाउने आर्थिक हैसियत नभएका विपन्न वर्ग मरे ।

त्यसैले पनि पहिचानको अझै महत्व बढेको छ । पहिचानको कारणले नेपाल टुक्रिन्छ या जातिय दंगा हुन्छ भन्ने सबै आधारहीन कुरा हुन्, बहुजातिय सम्मिश्रणले नेपाली समाज यस्तो बन्न पुगेको छ कि जातिय वा धार्मिक फुटको संभावना नेपालमा छैन , जात र धर्मको आधारमा दंगा गराउने प्रयास विगतमा नभएका होइनन् तर ती संभव भएनन् ,” आहुतिले भने ।

त्यस्तै, “आदिवासी जनजाति साहित्यकारहरुले नेपाली साहित्यमा जनजाति बिम्ब र शब्दहरुलाई प्रवेश गराएर नेपाली साहित्यलाई फराकिलो र समावेशी बनाएका छन् । जनजाति महिलाले रामायणकी सीतामा आफ्नो छवि देख्न सक्तिन ।”भन्दै उनले उपेन्द्र सुब्बाको “लाटो पहाड” मा च्याब्रुङ बनाउन गोरुको छाला चाहिएको प्रसंग र अर्जुन खालिङले “गोयाङको सुगन्ध” मा आफ्नी प्रेमिकाको गाला सुँगुरको फिलासँग दाँजको प्रसंगको रोचक ब्याख्या गरे ।

स्रोताहरुले भरिभराउ हलमा बिक्रीका लागि राखिएका आहुतिका “गहुँगोरो अफ्रिका”, “नेपालमा वर्णाश्रम र वर्ग संघर्ष”,”नयाँ घर”, “स्खलन” का सबै पुस्तक हस्ताक्षर सहित बिक्री भयो, किताब नपुगेको धेरैको गुनासो रह्यो । साँझ ७ बजे देखि १० बजेसम्म चलेको यो कार्यक्रम संवाद भनिए पनि समयको अभावले उपस्थितहरुले थोरै मात्रै वक्तासँग अन्तरक्रिया गर्ने मौका पाए, बाँकी प्रश्नहरु समेटेर अन्तर्वार्ताको रुपमा प्रकाशन गरिदिने प्रतिबध्दता संचालक हाङयुग अज्ञातले गरे ।

कार्यक्रममाथि टिप्पणी गर्दै पत्रकार जेबी पुनले कार्यक्रम रोचक रहे पनि मार्क्सवादीहरु जातपात नमान्ने वर्ग मात्रै मान्ने भएकाले जातिय पहिचान माओवादीहरुका लागि असुहाउँदो देखिएको र माओवादीहरु स्वयंले विगतमा जातिय पहिचान मेटाउने कामहरु गरेको सन्दर्भहरु कोट्याएर कार्यक्रमलाई सार्थक तर विरोधाभाष रहेको अभिमत जाहेर गरे ।



मानव अधिकारको तालिममा सहभागी हुन करीब एक हप्ताको लागि हङकङ आएका आहुतिलाई किताब बिक्री र कार्यक्रममा जम्मा भएको रकम मिलाएर ने रु ४१ हजार समीक्षक समाजका संयोजक हेम लावतीले हस्तान्तरण गरे । हेम लावतीको नेतृत्वमा लगभग १ वर्ष देखि हङकङमा समीक्षक समाजले साहित्य, समाज, राजनीति, कला, संगीतको विषयमा विज्ञहरुसँग छलफल चलाएर बौध्दिक कसरतको अभ्यास गर्दै आएको छ ।



- See more at: http://www.nepaljapan.com/2015/06/13/182281/#sthash.C59pDs5f.dpuf

No comments:

Post a Comment