Tuesday, June 16, 2015

समीक्षक समाजको एउटा पिरो कार्यक्रम - रबिन राई


---
आहुति होङकोङ आउने कुरामा सबैभन्दा उत्साहित हाङयुग अज्ञात र निरज राई भए, जे बी पनि कम उत्साहित भएनन् होला । यी विद्वानहरु माओवादी समर्थक नभए पनि बौध्दिक विमर्श गर्न धेरै रुचि राख्छन् र बौध्दिक बहस गर्न आहुति भन्दा उपयुक्त मान्छे अहिले को होला र ! म चैं अनलाइनमा आउने आहुतिका लेख अन्तर्वार्ताहरुको नियमित पाठक मात्रै र उनीबारे विशेष जानकारी नभएकोले कमै उत्साहित थिएँ ।

आहुतिसँग पहिलो भेटमा सामान्य कुराकानी भयो, जेबी आउनासाथ "तपाईंहरुको खेदो गर्ने तपाईंहरुको दुश्मन पत्रकार वहाँ नै हो " भनेर परिचय हाङयुग अज्ञातले गराए आहुतिसँग । आहुतिले उनका लेखहरु पढिरहेको बताए । आहुतिको र जेबीको एक आपसको कटाक्ष कम रोचक थिएन जुन डिनर खाइञ्जेल चल्यो र पछिका दिनहरुमा पनि चलेको मेरो अनुमान रह्यो ।
मैले चाहिँ आहुतिको लेखन र चिन्तन बारे बुझ्न उनको उपन्यास "नयाँ घर" पढेँ र उनको टेलिफिल्म "दलन" का केही भागहरु हेरेँ । उनको सिध्दान्त र राजनैतिक विचारधारामा पूर्ण सहमति नभए पनि यिनी अत्यन्तै कुशल लेखक र विचारक हुन भन्ने कुरामा मेरो शंका रहेन ।
समीक्षक समाजको आठौं कार्यक्रममा उनलाई संघियता, पहिचान र जनजाति साहित्यबारे बोल्न भनियो । "मैले होङकोङ कविता संग्रहको बारे बोलेको विषयलाई लिएर आहुति त्यहाँ आउँदा नछोड्नुस् है भनेर अनलाइनमा साथीहरुले लेखेको पनि देखेँ , देश छोडेर मानिसहरु नजाऊन् वा गएकाहरु पनि देश संझेर फर्किऊन् भन्नलाई कति कुरा मैले भन्नुपर्ने हुन्छ र भन्नेछु ", यति भनेर उनले स्वाभिमानी शैलीमा आत्मालोचना गरेको साहित्यकार साथीहरुले चित्त बुझाएको देखिएन । तर मलाई लाग्छ 'होङकोङ'का सर्जक र साहित्यकार साथीहरुले के बुझ्नुपर्छ भने होङकोङ कृति नितान्त होङकोङवासीको लागि हो किनकि यसमा प्रयुक्त भाषा, कथा ब्यथा र भावनाहरु यहीँका पाठकहरुलाई मध्य नजर गरी बुनिएका हुन् । आहुति या खगेन्द्र संग्रौला उक्त कृतिका लागि उपयुक्त समीक्षक वा पाठक हुँदै होइनन् भन्ने मेरो विचार रहेको छ ।
आहुतिले संघियता र पहिचान विरोधीहरुलाई यति तर्क र उदाहरणहरु दिएर यसको पक्षमा लाग्न उत्साहित गरे कि त्यो वक्तृत्व कलाको सुन्दर उदाहरण थियो । तोकिएको समय मिचेर बोलेका उनले जनजाति साहित्य सौन्दर्य फैलिँदै गएकोमा खुसी ब्यक्त गरे , उपेन्द्र सुब्बाको 'लाटो पहाड' र अर्जुन खालिङको 'गोयाङको सुगन्ध' को चर्चा गर्न भ्याए ।
संचालक हाङयुग अज्ञातले केही प्रश्नहरु राखेर थोरै समय संवाद पनि गराए र टिप्पणी र समापन गर्न जेबी पुनलाई माइक दिए । जेबीले मार्क्सवादीहरु जातपात नमान्ने वर्ग मात्रै मान्ने भएकाले जातिय पहिचान माओवादीहरुका लागि असुहाउँदो देखिएको र माओवादीहरु स्वयंले विगतमा जातिय पहिचान मेटाउने कामहरु गरेको सन्दर्भहरु कोट्याएर कार्यक्रमलाई सार्थक तर विरोधाभाष रहेको अभिमत जाहेर गरे ।
हेम लावतीको नेतृत्वमा यो १ वर्ष भन्दा कम समयमा समीक्षक समाजले साहित्य, समाज, राजनीति, कला, संगीतको विषयमा छलफल चलाएर निश्चय नै प्रभावकारी मंचको रुपमा विकास गरेको छ ।
समीक्षक समाजको आठौं कार्यक्रम धेरै सहभागीहरुलाई यसकारण पिरो भयो कि यता माओवादीमाथि पूर्वाग्रह राख्नेहरुलाई आहुतिले २ घन्टा भन्दा बढि जमाएर आफ्नो कुरा राखेको मन परेन, उता माओवादी समर्थकहरुलाई जेबी पुनको टिप्पणी पिरो भयो । कुनै पक्षमा नलाग्ने तटस्थ स्रोताको लागि भने कार्यक्रम चटपटे जस्तै स्वादिलो भयो तर तटस्थ मान्छे कति थिए होलान् र! ५० भन्दा बढि मानिसले भरिभराउ हलमा आहुतिका सबै पुस्तक बिक्री भयो, किताब नपुगेको धेरैको गुनासो रह्यो ।
संवाद भनिए पनि समयको उपयुक्त विनियोजन नहुनाले कार्यक्रम प्रवचन जस्तै हुन पुग्यो ,
एक पाठकको हैसियतले मलाई भने आहुतिको ब्यक्तिगत संघर्ष र सफलताको कथा सुन्न वा सोध्न मन लागेको थियो, एक दलित ब्यक्तिले आजको बौध्दिक आइकन् हुन कम मिहेनत गर्नु परेन होला । यद्यपि मलाई आहुतिले अझै भविष्यमा लेख्ने कुराहरुमा रुचि बढेर गएको छ , उनको अर्को उपन्यास "स्खलन" पढ्न लागेको मलाई आहुतिले पाठकको रुपमा जितेका छन् ।

No comments:

Post a Comment