Tuesday, May 12, 2015

‘म झिंगा हुन सक्थें’ – जूनकीरी / हाङयुग अज्ञात साभार : Hangyug.Com



IMG_2013734122356
समीक्षक समाजको छैटौं इपिसोडमा होङकोङ/मिरिकका कवि/फोटोग्राफर नेत्रप्रकाश थापा ‘जूनकीरी’को तस्बिर तथा कविता सङ्ग्रहको विमोचन सम्पन्न भयो ।
कवि जूनकीरी यतिबेला मिरिकमा छन् । विमोचन कार्यक्रममा उनलेे मिरिकको ‘हेलिप्याड’मा आएर स्काइपबाट अत्यन्तै मीठो सम्बोधन गरे । उनले भने- “टिभीमा लाइभ रिपोर्टिङ गरे जस्तो भैरहेको होला । ब्याकग्राउन्डमा मिरिक लेक छ । पानी पर्न लागेको छ । बादल मडारिएर आउँदैछ । तल नेटवर्क राम्रो नभएर म र फिरोज माथि हेलिप्याडमा आएका छौं । यो हेलिप्याड बृटिसको पालामा बनेको हो । समीक्षक समाजका साथीहरू नभइदिएको भए यो जूनकीरी ‘झिंगा’ हुने थियो, हेहेहे ।”

IMG_10186043595399
(जूनकीरी मिरिकमा स्काइपमा बोल्न अघि)
उनले यसो भन्ने बित्तिकै हाँसोको मूल फुट्यो- गललल । मगर संघ हङकङको कार्यक्रम स्थल हाँसोमय भयो । तर यो हाँसोभित्र खुशीको आँसु पनि छल्किएको देखें जूनकीरीका साथीहरूको आँखामा । मिरिकबाट उनले साँच्चिकै भावुक बनाए हामीलाई । मेरो पनि आँखाभरि आँसु भरियो । छेवाङ लामाको गीतले भने झैं ‘आँसु आँखाकै डाँडीमा अल्झिरह्यो ।’ जूनकीरीले थपे- “४० वर्ष पछि मेरो सपना विपना भयो । म आज एकदमै खुशी छु ।”
गोर्खास्टोरमा आएर बस्यो निक्कै दिन “जूनकीरीको मन” करिब ५५ केजी । गोर्खास्टोरका प्रोपाइटर रामली थुलुङज्यूलाई विशेष धन्यवाद छ । हतारहतार किताब लिन दौडिए ररा (रविन राई) र रानी (निरज राई) । समीक्षक समाजका संयोजक  हेदा (हेम लावती) चुनवानबाट ब्यानर लिएर रेलमा दौडिएर आउँदै । समय दौडिरहेको बेला करा( कविता राई) र मक(मनु कन्दङ्वा)ले ढिलो गरेर हैरान । उता कार्यक्रम स्थलमा समयका पक्का जेब्स(जेबी पुन मगर) छट्पटीले मर्नु लागेका । ३ बजे सुरु हुनु पर्ने कार्यक्रम अल्याङमल्याङले अलिकति ढिलो त भै नै गयो । तथापि कार्यक्रम बहुत बढिया भयो ।
IMG_2005693653192
जूनकीरीको मन बारे बोल्दै समीक्षक कमल पौडेलले भने- ” जूनकीरीको तस्बिर र कविता फेसबुकमा हेरिरहेको हो मैले । सरल र छोटा कविताहरूले मनलाई छुन्छन् । कविको शरीर होङकोङ छ तर मन मिरिकमा भए झैं लाग्छ ।”
तेस्तै संगीतको क्लास छोडेर जूनकीरीका कविताहरू बारे बोल्न समीक्षक समाजको निम्तोलाई स्वीकार गरी कार्यक्रममा आइपुग्नु भएका दिनेश सुब्बाज्यूले भन्नुभयो- “समीक्षक समाजले साहित्यिक कृतिहरू माथि समीक्षा गर्ने परिपाटी सुरु गरेर असल काम गरेकोमा उत्साहित छु । पत्रकार जेबी पुनले हाङयुग अज्ञातको ‘करङको हिरासत’ बारे प्रस्तुत गरेको समीक्षाले प्रभावित पनि भएको थिएँ । तर उनले ‘श्वेत आकाङ्क्षा’ माथि गरेको समीक्षा फितलो लाग्यो ।” उहाँले घुमाउरो ढंगले के पनि भन्नू भयो भने कार्यक्रममा उपस्थित हुन नसकेकाहरूको सन्देश पढ्न थालियो भने अर्को चोटिदेखि उहाँको पनि सन्देश मात्रै आउनेछ ।
“जूनकीरीका कविताहरू तत्काल लेखिएका, छोटा, स्वादिला, होङकोङको भोगाई भएकोले म चैं चाउचाउ कविता भन्न रुचाउँछु ।”- समीक्षक दिनेश सुब्बाले भन्नू भयो ।
रराले जूनकीरीका कविताहरू बारे भूमिका लेख्न मलाई जिम्मा दिएका थिए । जूनकीरीका कविताहरू मिरिक झिल जस्तै शान्त र सुन्दर छन् । तेसो र मैले उनका कविताहरूलाई चलाएर त्यो शान्ति र सुन्दरता बिगार्न चाहिनँ । मैले जूनकीरीलाई जसरी भेटें, देखें त्यो मात्रै लेखें भूमिकामा । पाठकहरूले आआफ्नो तरिकाले बुझुन् भनेर पनि कविता सङ्ग्रहमा चिसो समीक्षा गर्न रुचाइनँ । उनका कविता बारे नलेखेर उनको बानी बेहोरा, उनको फुलेको कपाल बारे लेखेकोले कतै जूनकीरी रिसाउने पो हुन् कि ? पनि लागेको हो मलाई ।
IMG_1486226376842
जूनकीरी र उपेन्द्र सुब्बाको व्यक्तित्व मलाई उस्तै लाग्न थालेको छ । दुवै सरल छन् । रिसाउँदैनन् । जसले जे भनोस् हाँस्छन् र हँसाउँछन् मात्रै । तर एक दशक बितिसकेको छ उपेन्द्र सुब्बासित नभेटेको, उनी फेरिए कि ? पनि लागिरहेछ । तर जूनकीरी र उपेन्द्र दुवैको “सेन्स अफ ह्युमर” मलाई उस्तै लाग्ने गरेको छ ।
जूनकीरीको मन कविता सङ्ग्रहको प्रकाशनले होङकोङ र मिरिकको नेपाली साहित्यको विकासक्रममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । समीक्षा प्रकाशनलाई हार्दिक बधाई । जूनकीरीलाई उत्तरोत्तर प्रगतिको कामना छ ।
जूनकीरीलाई मान्छेहरूले जूनकीरी नभने पनि जूनकीरी, जूनकीरी नै हो । जूनकीरी बरु सुनकीरी हुनसक्ला, मुनकीरी हुनसक्ला तर “झिंगा” कदापि हुनसक्दैन । हजारौं वर्ष माटोमुनि पुरिएर अनदेखा रहे पनि हीरा भनेको हीरा नै हो । संसारलाई उज्यालो दिने जूनकीरीले  पाठकहरूको मुहारमा पनि उज्यालो छरेका छन् ।
IMG_8601672170423

No comments:

Post a Comment