Tuesday, May 12, 2015

खोलाको गीत कवितामा उपेन्द्र सुब्बा/ मनु कन्दङ्वा


2015-04-20 12.29.40
[समीक्षक समाज -छैटौं शृङ्खला विशेष ]
मैले उपेन्द्र सुब्बाको ‘कविताको बिउ’ नेपाली साहित्यघर अर्थात्  www.nepalisahityaghar.com मा पाएको जानकारी अनुसार साहित्यका खुड्किलाहरू यसरी टेक्दै उक्लिएका थिए । वि.सं.२०५४ सालतिर दमकमा बि ए पढ्दै गर्दा साझा कविता भन्ने किताबमा दुई लिम्बुहरू बैरागी काइँला र वीरेन्द्र सुब्बाका  कविता पढे । यी दुई कविहरूका कविता पढिसके पछि ए ! लिम्बुहरू पनि लेखे त सकिने रहेछ, म पनि लेखिहेरौँ न त, भनेर उनले लेख्न सुरु गरे ।

लेख्दै गए लेख्दै गए कतै प्रकाशन गरेनन् धेरै बर्षसम्म लुकाएरै राखे बरु उनका गीत चै केहि साथीहरूलाई थाहा थियो र साथीहरूकै आग्रहमा  गीत रेकर्ड गर्न भनी  काठमाडौं आए । सोहि क्रममा राजन मुकारुङ, हाङयुग अज्ञात लगायत कवि साहित्यकारहरू सँग भेट भयो । त्यहीँ भेटमा उनले  पहिलोपल्ट आफ्नो कविता राजन मुकारुङलाई पुतलीसडकको किम्ची रेस्टुरेन्टमा सुनाएका थिए । मुकारुङले कविता सुनेर तारिफ गरे । त्यति बेला राजन मुकारुङ सैनिक आवाजका सम्पादक थिए भने हाङयुग अज्ञात पनि सोही पत्रिकामा काम गर्थे । उनका केहि कविताहरू सैनिक आवाजमा छापिदिए र संग्रह निकाल्ने प्रस्ताव पनि राखे । राजनको प्रस्तावलाई स्वीकार्दै उनले आफूसँग भएको कवितामा थप अपुग कविता लेखेर आफ्नो पहिलो कविता संग्रह “डाँडा माथिको घामजून र गड्तीरको राँकेभूत” प्रकाशन गरे ।
IMG_3449273864730
(उपेन्द्र सुब्बा र राजन मुकारुङ)
गीतको एल्बम निकाल्न भनी हिँडेका उपेन्द्र कविता संग्रह छापेर फर्के । उनी भन्छन् गाउँमा अझै पनि अल्मलिन्छन् कवि  उपेन्द्र सुब्बा भन्दा ।
जुन बेला  कवि राजन मुकारुङ र हाङयुग अज्ञातले “एकाङ्गी” नेपाली साहित्यमा आदिवासी जनजातिहरूको जनजीवनलाई पनि लेखिनु पर्छ अनि मात्रै नेपाली साहित्य सप्पै नेपालीको हुन्छ” भन्दै सिर्जनशील अराजकताको आग्रहको साथ थुप्रै पहिचानवादी कविताहरू लेखिसकेका थिए । जुन आदिवासी जनजातिको उठाईएको  सवालले उनलाई एकदमै छोयो । हुन पनि उनले लेखेका कविताहरू सबै सिर्जनशील अराजकता  सँग नजिक थिए । त्यसै कारण उनी पनि सिर्जनशील अराजकतामा सामेल भए ।

कवि हाङयुग भन्नुहुन्छ –
“तत्कालिन समय राजन मुकारुङ र हाङयुग अज्ञातले लेखेका कविताहरू प्राय नबुझिने थियो तर उपेन्द्र सुब्बाले कवितामा सबैले बुझ्ने सरल भाषा र शब्दको प्रयोगले सिर्जनशील अराजकतालाई स्थापित गर्न सहयोग पुर्‍याएको थियो ।
बिशेष गरी उपेन्द्रको पहिलो कविता संग्रह ‘डाँडा माथिको घामजून र गड्तीरको राँकेभूत’ मा प्रकाशित कविता “जाँठो जिन्दगी” ले सिर्जनशील अराजकतालाई  बिशेष चर्चामा ल्याएको थियो ।”
खोलाको गीत र पुराना कविताहरू
Kholako-Geet-Upendra-subba
( कविता संग्रह )
लेखक – उपेन्द्र सुब्बा
प्रकाशक – फिनिक्स बुक्स
काठमान्डौ नेपाल
प्रथम संस्करण- साउन २०७०
मुल्य- रु २०० ।
संग्रहित कविता- ४४
पेज- १०२

समीक्षा सामाज हङ्कङको छैटौँ चरणको कार्यक्रमका लागि
समीक्षक- मनु कन्दङ्वा 
मिति- १८ अप्रिल २०१५
“खोलाको गीत र पुराना कविताहरू” कविता संग्रह कवि उपेन्द्र सुब्बाको कृतिहरू मध्ये तेस्रो कृति हो ।
प्रथम संस्करण वि.सं २०७० साल साउन महिनामा फिनिक्स बुक्स काठमान्डौको प्रकाशनमा रहेको १०२ पेजको यस कविता संग्रहमा जम्मा ४४ वटा कविताहरू संग्रहित छन ।
उपेन्द्र सुब्बाले कवितामा लिम्बू मिथक र गाउँले लोकल पात्र नै प्रमुख वक्ताको रूपमा प्रस्तुत गर्दै आउनु भएको छ । सोहि अनुरुप मेरा केहि बुझाईलाई यहाँ बुँदागत रूपमा राखेकी छु ।

१) सरल शब्द र मिठास
२) गाउँले जनजीवन
३) लिम्बू मिथकहरूको प्रयोग
४) किराँत  संस्कृती र मुन्धुम
५) राजनीति र पहिचान

१) सरल शब्द र मिठास – यस संग्रहमा प्राय सप्पै शिर्षकका  कवितामा सरल शब्द रूपी ईटाले कविताको छुट्टाछुट्टै घर उभ्याएका छन् हामी सजिलैसँग गन्न सक्छौँ  ती शब्दका ईटाहरू जस्को लागि हामीले कुनै पुस्तकको ठेली  अध्ययन गर्न जरुरी छैन । मिठास उत्तिकै छ, मेरै अनुभव,  जति मैले पढ्दै गएँ थाहै नपाई संग्रहको अन्तिम पृष्ठमा पुगेँ ।
ति मध्ये एक कविता ‘बाटो’  शिर्षकमा
जब
तिमि गयौ-
मेरो घर आँगन छेउ भएर गयौ
मेरो मन मुटु छोएर गयौ
तब,
अचानक बेचैनी बढ्यो
त्यसै त्यसै
दोबाटो कुरी बस्न मन भएर आयो
कतै फेरि घुमिफिरी यही बाटो भएर आउँछ्यौ कि ?
र सोध्छौ कि फेरि-
यो बाटो कहाँ जान्छ?
भन्नेथेँ-
यो बाटो मेरो दिल सम्म जान्छ ।

त्यस्तै गरी,
२) गाउँले जनजीवन – उनले  गाउँका व्यक्तिलाई सर्लक्कै आफ्नो कविताको पात्र बनाएका छन् र उनीहरूले भोग्दै आईरहेको वास्तविक जीवननलाई कविताको बिषय बनाएका छन् । जस्ले गर्दा हामी यी कविताहरू पढिरहँदा  गाउँघरकै परिवेशमा मज्जाले झुम्न पुग्छौँ । सन्दर्भसँग मेल खाने एक कविता यस्तो छ ।

‘छोरी सँग म रोएको चार कविता’
मध्ये
‘सानी छोरी सँग’
काकु नानी नानी !
सुत छोरी सुत
ए, चरनबाट गाई बस्तु फर्कि आउन थाले
ककक् ककक् खोर भित्र पस्यो रातो भाले
बिरामी छ तिम्रो पापा असारमासको बेला
तिम्री आमा मेलापात एक्लै बिचरा
आईपुग्नेछिन् तिम्री आमा रात पर्नु पहिले
ए ! काकु नानी काकु,खाऊला बुबु अहिले
सुत छोरी सुत !
भारी माथि सिङ्गो जून बोकी उकालोमा
आउँदै होलिन् असिनपसिन,कठै तिम्री आमा
तिमी रुन नछोडे त पापा पनि रोला
पापा रोको देवताले देखे लाज होला
जे जे होला लाजै होला मै रुन्छु बरु
ए, काकु नानी काकु, नरौ छोरी नरौ
सुत छोरी सुत !

यसै गरी,
३) लिम्बू मिथकहरूको प्रयोग- उपेन्द्रको कवितामा  लिम्बू मिथक प्रसस्तै पढ्न पाईन्छ जस्ले गर्दा नेपाली साहित्यलाई समृद्ध  बनाउनुको साथै सौन्दर्य पनि थपेको छ ।
उनको एउटा कविता “उहि उहिलेको कुरा, फेरि सम्झनामा” बाट एक हरफ-
ए, बर्खा लाग्यो
म भने सहरमा छु
खोला उर्लि धमिलो बगेको देखेर
छोरी खोज्दै रुँदै होलिन्
सेमीइँ..इँ..इँ..! २
र मेरो आमा पानि रुँदै होलिन्
बारीको डिलमा बसेर
सम्झिँदै मेरो बैनीको त्यो उज्यालो अनुहार
आसा ए मा मो ए..ए..ए..!
ए बर्खा लाग्यो
म सहरमा छु ।

४) किराँत संस्कृती र मुन्धुम- लिम्बू परम्पराभित्र चलिआएको संस्कार र मुन्घुमहरूलाई पनि कवितामा उतारेका छन् उपेन्द्रले ति मध्ये “तङसिङ”
शिर्षकबाट कविताको एक पङति-
आँशुले आगो निभाउन सक्दैन
आगोले आँशुको भाषा बुझ्न सक्दैन
अब हामी मिलेर मिसाम मार्नु पर्छ
फक्ताङलुङ् , केवालुङ्, याग्रासिङ् गाडेर आँगनमा
तीन राते तङसिङ राख्नुपर्छ
विरासत बाँधेर लिङ्गोमाथि
च्याब्रुङ ठटाउँदै मुन्धुम गाउनुपर्छ
रातभर यासा थाल बजाउँदै
छमछमी बिजुवा बिजुवानी नाच्नु पर्छ ।

त्यस्तै,

“माङधने कान्छाको युप्पारुङ”
कविता को पनि एक हरफ –

नदुख्ने मुटु त देउताको मात’ होला
खप्पर मै युप्पारुङ हानिराखेर
सपनाहरू पोइला जाँदा भने गम्भीर हुने गर्छ
ढल्किँदो बैसको आलीमा बसेर धुरुधुरु रुने मन गर्छ
तर आँशु भुइँमा झर्न नपाउँदै
घुरेनको आलुचाको डालीमा नाम्भा सपना झुन्डेर
चमेराले जस्तै हाजिक् हाजिक् हाँसिदिन्छ
र पो दुख्न फुर्सद छैन माङधनेलाई ।

५) राजनीति र पहिचान – सबभन्दा फोहोरी खेल राजनीति हो जहाँ दुर्गन्धित हिलो छ्यापा छ्याप भईरहने जसको असर जनता सँधै छ्यापाई खाईरहने प्रवृत्तिको
विरुद्धमा राजनीतिज्ञालाई व्यङ्ग्यात्मक आक्रोस पनि कवितामा  प्रहार गरेका छन् । मलाई लाग्छ “भेडेटारको पिकनिक” उनको यो कविताले अवस्य भेट खाला-

कति खानु धरानको कालो बङगुर मात्र
आज –
बिन लादेनको मुटुसँग
जजबुसको कलेजो भुटेको अलिकति
सद्दामको कान  पोलेर
अकबरे खुर्सानिमा मोलेको अलिकति
माक्सको अन्डा
हिटलरको गिदि र जिब्रो
ब्रिट्नी स्पेयरको मुत फुल बोतल
बाजेलाई विशेष
फाक्चानाको आलो दूध
तात्तातो, एक गिलास-
भेडेटारमा पिकनिक कति रामाईलो होला ?

आदिबासि जनजातिको पहिचान त कविताले बोकेको नै छ तेसै बिचमा पुरुष प्रदान देशमा अलमलिएको नारी (आमा) को पहिचान  धुइँधुइँती खोजेको छ यहाँ एउटा कविताले

‘मेरो आमाको नाम’
चाप्पती ?
फुलमती ?
दिलमती ?
वा, खावती,नामवती,लावती ?
मेरो आमाको नाम के होला ?
यति धेरै सम्भावित नामहरूमा
मेरो आमाको नाम के होला ?
मेरो नागरिक्ता,सर्टिफिकेट अन्य पुर्जाहरूमा

कहीँ कतै उल्लेख छैन
अब म मेरो आमालाई के नाम दिऊँ ?
के उपमा दिऊँ ?
मेरो आमालाई सम्बोधन गर्न योग्य शब्द
कुन शब्दकोषमा होला र?
आमाको पनि कुनै नाम हुन्छ र ?
ए ! मेरो आमाको नाम त आमा नै पो होला ।

यसरी नै किराँत मुन्धुम र मिथकहरूलाई जातीय  पहिचान र नश्लिय चेतको निम्ति कवितामा चित्र कोरेर नेपाली साहित्यलाई  सौँन्दर्य थप्दै सम्वर्धन गरेका छन्  कवि उपेन्द्र सुब्बाले । सिर्जनसिल अराजकका तिन कविहरु मध्ये कवि हाङयुग अज्ञातको पान्डुलिपि बर्ष १ अंक ८ मा छापिएको सिर्जनसिल अराजकताको मुखपत्रको ५ बुँदाहरू मैले पढेकी थिएँ ।
ती हुन् १) वैचारिक अनेकानेक २) सांस्कृतिक वैविध्य ३) नश्लिय चेत (बोध) ४) कवित्व निस्सिमता ५) सृजनात्मक निर्णय, मेरो पाठकीय बुझाईमा यी बुँदाहरू मध्येका २,३,४ र ५ बुँदा  मैले यो संग्रहमा पाएको छु र बुँदा १ भित्र पर्ने केहि बिषयहरू दलित,उपेक्षित वर्गका विचार र भोगाई पनि समेट्न म कवि उपेन्द्र सुब्बालाई आग्रह गर्दछु । थाहा छैन मलाई उनको भर्खरै लोकार्पण भएको कथा संग्रह “लाटो पहाडमा” के छ ? पढ्न बाँकि नै छ ।
2015-04-19 16.09.45
(समीक्षा प्रस्तुत गर्नु हुँदै समीक्षक मनु कन्दङ्वा)
अन्त्यमा सिर्जनशील अराजकताको लँडाईँका ३ योध्दाहरूलाई मेरो आग्रह जसरी राष्ट्रिय स्तरमा आन्दोलन केहि हदसम्म सफल  भएको छ जस्लाई केहि हद मात्र होईन पुर्णता दिईयोस् राजन मुकारुङले मदन पुरस्कार पाउँदैमा दयाहाङ राई नायक बन्दैमा नरोकियोस् यी मुद्दाहरू । अझै बाँकि नै छ धैरै बिषयहरूको रिजल्ट आउन, अबको सिंहदरबार  बिहानैको धून बज्ने स्टुडियोमा च्याब्रुङ, ढोल र झ्याम्टाको पनि आवाजहरू सुनियोस् अब आउने पाठ्य पुस्तकहरूमा रिदामा राम्लिहाङ, र लेःमुहाङ  साप्परिहाङमाको पनि ईतिहास पढ्न पाईयोस् । यी मुद्दाहरूलाई राष्ट्रिय स्तरमा मात्र सिमित नभई अन्तराष्ट्रिय स्तरमा  पनि लगियोस् ।
©मनु कन्दङ्वा

No comments:

Post a Comment