Tuesday, May 12, 2015

समीक्षक समाजको शोक काब्य गोष्ठी - रबिन राई



---------------
फेरि भूँइचालो गइरहेको खबर आइरहेको छ, भूँइचालो आउने र जाने दौरान कतिले conspiracy theory पनि हुन सक्ने आशंका गर्न थालिसके । यो प्राकृतिक, दैवी वा मानवकृत् के हो त्यो त समयले नै बताउँला । समीक्षक समाजले आफ्नो सातौं कार्यक्रम भने भूकम्प पीडितहरुलाई समवेदना दिँदै शोक काब्य गोष्ठीको रुपमा प्रस्तुत गर्‍यो ।

निर्धारित कार्यक्रम १ बजे भए पनि करीब साढे दुई बजे मात्रै नमोबुध्द आमा समूह ब्यवस्थापनले हल खोलिदिए । १ बजे देखि हामीसँगै पर्खेका कमल पौड्यालले दिक्क मानेर भने,"अबदेखि कंगनमा गर्नू, निशुल्क!" । "Every cloud has silver lining" भन्दै कविता मेडम खुसी भइन् ।
आइतबारको दिन संगीत प्रशिक्षार्थीहरुले गर्दा दिनेश सुब्बा दाइको भ्याइ नभ्याइ हुने गर्छ,
"कार्यक्रम सुरु भएपछि मात्रै मलाई बोलाउनू है" भन्ने दाइको निर्देशन हुन्छ । केही समय निकालेर भए पनि दाइको सधैं उपस्थिति रहन्छ ।
यसपालि किसन दाइले कालो ब्याकग्राउन्डमा शोक काव्य गोष्ठी लेखिएको ब्यानर लिएर आउनु र कार्यक्रम शुरु हुने बेला ठिक्क मिल्यो । शोक काब्य गोष्ठीको औचित्य बारे स्पष्ट पार्दै संयोजकले भने,"हामी शब्दकै दियो जलाउँ, सुरको मैनबती बालौं, हाम्रा सिर्जनाहरुले भूकम्पमा ज्यान गुमाएकाहरुको स्मरण गर्दै १ मिनेट मौन धारण गरौं "।
उनले कार्यक्रम संचालन गर्ने भूमिका मलाई प्रदान गरे, मलाई एक्लै बोल्न अप्ठ्यारो लाग्छ । मनमा मनोवादहरु त एक्लै गरिन्छ, उदघोषणमा तिनै मनोवादहरुलाई बोलीमा प्रस्फुटन गर्ने त हो भन्ने लाग्छ तर साँच्चै एक्लै बोल्न अप्ठ्यारो हुन्छ ।
दिनेश दाइले भर्खरै रिलिज गरिएको ज्ञान सुब्बाद्वारा गाइएको गीत प्रस्तुत गरे गिटार बजाउँदै,
"आज आमाको छाति चिरिएको छ
आज आमाको न्यानो काख रितिएको छ
बिन्ति छ सबैले आऊ आमालाई बचाऊँ" ।
दिनेश दाइको गीत पछि गीतकार हेम लावतीले आफ्नो गीत वाचन गरे,
"चर्किरहेछन् मानवताको मुटुहरू धर्ती जस्तै
भूईँचालोको तरंगले बग्यो नेपाल मान्छे सँगै
चिरा चिरा जग नै सारा मनहरूझन् चिरा चिरा"
त्यसपछि गायक एल बि मुखियाले गाए,
"देशले रगत मागे मलाई बलि चढाऊ
रुँदिनन् मेरी आमा ऊ नेपालीकी छोरी"
देशभक्ति गीतलाई कलासाथ आफनो गला दिएका गायक मुखियाले सबैको मन जिते।
कवयित्रीहरुको पालो आउँदा पूर्णिमा जी शाहले शब्दले भूँइचालोको परिदृश्य निर्माण गरिन् भने मनु कन्दङवाले नेपाल आमालाई सम्बोधन गर्दै आफू टाढा भए पनि आफ्नो मन र मुटु उनीसँगै रहेको कविता मार्फत् बताइन् ।
पूर्वनिर्धारित कार्यक्रम अनुसार कवि हाङयुग अज्ञातले भूँइचालोसँग सम्बन्धित रहेर लेखिएका आफ्ना ताजा कविताहरु सुनाएर सबैलाई भावुक बनाए । उनका कविताका पात्रहरु भूकम्प पीडित बालबालिका रहेकाले ती कविताले झन् स्रोताको हृदय निचोरियो ।
"
मेरो त घर भत्क्यो
तिम्रो त सग्लै छ
म झरें भुइँमा
तिमी त अग्लै छौ ।
............
आमालाई बोलाएँ
निस्किनु भनेर
माटोको थुप्रो
कसरी हटाउने ?
आऊ न साथी आऊ !
मलाई सघाउ न
सास थुनियो होला
बिचरी आमाको
"
(तिम्रो र मेरो घर)
त्यस्तै "थेबा दाइ" र "तिप्लिङ" जस्तो कविताद्वारा जनचेतना र खबरदारी पनि गरे ।
"तिप्लिङले
रोडा र माटोसितै उठायो
सेता चामल गेडी
पोलिथिनको झोलामा
आसेङ !
तिप्लिङमा को बस्छ ?
कस्को लागि
उनीहरूले चामल छरेर गए ?
आसेङ !
तिप्लिङ सुँगुर हो ?
तिप्लिङ कुकुर हो ?
तिप्लिङ !
सम्झिराख्नू
हरियो हेलिकप्टरले
आकाशबाट मिल्क्याएको
माटो र ढुङ्गा सरिको
एक एक गेडा चामल
यो विपत्ति टरेपछि
उनीहरूलाई सबक सिकाउन
कुनै चुनाव नै नपर्खिनू "


त्यसपछि आएका कवि कमल पौडेलले भने छायाँ कविता लेखनको अभ्यास स्वरुप आफ्ना स्वर्गीय मातापितालाई कवितामा संझे, कुनै समय आफूसँगै रहेर डुंगामा तैरिएका आफ्ना मातापिता आज धुँवा बनेर माथि बादलमा बसिरहेका उनले देखे ।
चित्रकार दिपेन राईले महाभूकम्प सम्बन्धि आफ्नो चित्र "HOPE" को प्रदर्शन र ब्याख्या गरे, यसमा आफूले पिकासोको क्युबिज्म शैलीको अनुशरण गरेको पनि बताए ।
सपरिवार आएका गायक गणेश पराजुलीले संबोधन गर्दै महाभूकम्पको प्रसंगमा उठ्न गएको गढीमाईको मेलामा पशुबलिको सन्दर्भ बारे बोल्दै, यी दुईबीच अन्तरसम्बन्ध रहे पनि नरहे पनि बलि प्रथा रोकिनु पर्ने विचार ब्यक्त गरे । उनले उषा शेरचनद्वारा लेखिएको उनको संगीतको गीत गुनगुनाए ।
कार्यक्रमको अन्त्यतिर कवि तथा गायक निरज राईले आफ्नो कविता र गायन प्रस्तुत गरे, कवितामा उनले नेपालमा रहेका आफ्नो छोरोको भावना यसरी ब्यक्त गरे,
" धर्ती कापेको क्षण
घरको थान भूईभरी छरपस्टिदा
आमै! मैले तिमीलाई खोजे,
कि
तिमी आएर सम्हाल्छौ भनी,
तर तिमी मसङ्ग थिएनौ।
छरिए भूइँ भरी मेरा आशा,
थानका चिन्डोहरू जस्तै।
त्यो क्षण देखि
धर्ती हल्लिइ रहयो,
म रातभर बाजेको बूढो छातीमा टाँसिएर
काँपी रहेँ,
...."
यस विपदमा सबैले देशलाई आफ्नो हैसियतले सघाइरहेका छन्, बल हुनेले बलले, धन हुनेले धनले, ज्ञान हुनेले ज्ञानले एकजुट भइरहेको यो समयमा होङकोङमा रहेका साहित्यकार कलाकारहरुले भावनाले भूकम्प पीडितलाई साथ दिएका छन् ।
सुरुमा अर्थ संकलन गरिने भनिए पनि हालै चारैतिरबाट अर्थ संकलन भइरहेकोले यो काब्य गोष्ठीलाई शोक काब्यगोष्ठीको रुपमा मात्रै समीक्षक समाजले राख्यो, नियमित रुपमा लिइने सहभागी शुल्क पनि यस पटक उठाइएको थिएन ।

No comments:

Post a Comment