Tuesday, May 12, 2015

हाङयुग अज्ञात - बसन्त थापा (ॠतुराज) सित सङ्गोष्ठी ससको पाँचौं श्रृङखलामा



हिज मार्च १ आइत्बार समीक्षक समाजको आयोजनामा नेपालबाट डकुड्रामा देखाउन होङकोङ आइपुगेका बसन्त थापा(ॠतुराज)सित सङ्गोष्ठी सम्पन्न भयो । सङ्गोष्ठीमा हाम्ले धेरै कुरो सिक्ने अवसर पायौं, यसका लागि ॠतुराजलाई होङकोङ निम्त्याउने किसन राईलाई फूलै चढाएर तितेपातीले पानी छर्केर हनेमने गरे पनि फरक पर्ने छैन । यी नामले किसन भए पनि मन श्वेत छ । धेरै सर्जक तथा श्रष्टाहरूलाई होङकोङ भित्र्याएर हाम्रो सम्मुख राखिदिन्छन् किसन, यो हाम्रो अहोभाग्य हो भन्ने लाग्छ मलाई । किन्भन्देखिन्लाई उनले ल्याएदिएका सर्जक तथा श्रष्टासित विचार आदानप्रदान गर्ने अवसर पाइरहेका छौं । यसपटक त कार्यक्रमको ब्यानर समेत निशुल्क बनाइदिए किसनले ।

अनि अर्को धन्यवाद समीक्षक समाज(सस)लाई मुटु खोलेर दिनै पर्ने हुन्छ । यसकारण कि ससले नेपालबाट आएका र होङकोङमै भएका सर्जक तथा श्रष्टाहरूसित विचार-विमर्श, छलफल तथा गोष्ठीहरूको आयोजना गर्ने गरेको छ । ससले आयोजना गर्ने गरेको यस्ता कार्यक्रमहरूमा हामी उपस्थित सबैले आफ्नो विचार राख्न पाउने अवसरको सिर्जना हुने गर्छ । यस्मा सहजकर्ताको भूमिकामा संयोजक हेमकुमार लावतीले निर्वाह गरिरहेका छन् । प्रमुख वक्ताको प्रोफाइल अनुसार जेबी पुन र रविन राई पनि बेलाबेला सहजकर्ताको भूमिकामा देखिएका छन् ।
ॠतुराज हिजको प्रमुख वक्ता थिए । ॠतुराज बहुआयामिक व्यक्तित्व प्रभावक रहेछन् । उनी लेखक हुन् तर आफूलाई लेखक नठान्ने आदर्शवादी युगका फोसिल ॠतुराज मित्र राजन मुकारुङले भने झैं बोलक्कड र पहिचानका सवालमा "मह-पथ"का रहेछन् । तर निरज राई र म भएर प्रश्नप्रतिप्रश्नले छेक्न थालेपछि उनी अर्धमह-पथसम्म आए । तर ठूलो सँस्कृतिमा सानो संस्कृति विलिन हुनुपर्छ भन्ने विचारसित अझै पनि म सहमत छैन ।
तर ॠतुराजले प्रष्ट कुरो बोले कि राम्रो लेखक बन्नलाई पुस्तक पढ्न पर्छ; नेपाली होइन किन्तु हिन्दी र अङ्ग्रेजी पुस्तक । यो त समीक्षक समाज स्थापनाको औचित्य पनि हो, पुस्तक पढौं अनि विमर्श गरौं । मार्क्सवाद पुस्तिकाको अनुवाद गर्दा उनी झन्डै झ्यालखाना परेछन् । धनकुटाबाट धरान, विराटनगर हुँदै हिजआज काठमाडौंमा जमेका ॠतुराजको "सेन्स अफ ह्युमर" खगेन्द्र सङ्ग्रौलाको भन्दा कम छैन ।
दिनेश सुब्बाले ॠतुराजको गीत सुनाए । हामी त दङ्गै पर्‍यौं । ॠतुराज पनि गीतकार रहेछन् । अनुप्रास मिलाएर मात्रै गीत हुँदैन भन्ने उनको विचार सुनेर त झन्डै फ्लाँट परियो । देवानन्दका फ्यान ॠतुराजको तर कपाल चैं गब्बरसिंहको जस्तो रहेछ । अनि फिलिम खेल्ने शौख डकुमेन्ट्री खेलेर पूरा गरे अरे । काठमाडौं आएर उनले धेरै दु:ख गरे, संघर्ष गरे भन्ने पनि सुन्न पायौं । दु:ख, अध्ययन र संगतले नै खरिएका रहेछन् । कनकमणी दिक्षितले ॠतुराजलाई चिनेछन् । गज्जब भएछ ।
संस्कृत र अङ्ग्रेजी जान्ने भए पछि नेपाली भाषामा 'पर्फेक्ट' लेख्न सक्ने भनिएका उनको ॠतु विचार १३५०/- रुपियाँमा किनिराखेको छु । त्याँ उनको लेखनमा उनले आफ्नो नश्ललाई कसरी छिपाउनु सफल भएका छ्न्, मेरो खोजी त्यो हुनेछ । विचार त तेस्तै हो, कतिपय ठाउँमा सहमत हुन सकिएला पनि ।
किनभने विचार निरपेक्ष हुँदैन ।
किनभने उनको स्कूलिङ र मेरो स्कूलिङ फरक हुनसक्छ । उनको अनुभव र मेरो अनुभव तेस्सै पनि फरक छन् । यस्ता कुराहरूले हाम्रो विचार निर्माण हुन्छन् । उनले लेखन, पत्रकारिता, व्यवसाय र राजनीतिमा बिताएको ५ दशक तेस्सै नै वजनदार छ । तर अहिले परिवर्तनको तिब्र चरणमा प्रवेश गरेको नेपाली समाजको लागि उनका विचारहरू कत्ति सहयोगी बन्ला ? मैले उनको विचारमा खोज्ने तेही हो ।
अध्ययन, परिश्रम र प्रतिस्पर्धामा विश्वास गर्ने ॠतुराजको अनुभवबाट हामीले लिनु पर्ने प्रेरणा भनेको सबै समुदायसित सङ्सङ्गै काम गर्नु, हामीमा भएको असल कुरालाई बाहिर ल्याउनु र बौद्धिक कर्ममा विश्वास गर्नु हो ।
"बुद्धि नै शक्ति हो । अध्ययन गरे बुद्धि बढ्छ ।"समीक्षक समाजको आग्रह र ॠतुराजको अनुभव ठ्याक्कै मिल्यो ।
अनि अन्तिमको माम्री विचार के छ भने ॠतुराजले किताब अनुवाद गरेको एक शब्दको १०/- रुपियाँ लिदाँरहेछन् । कत्ति धनी रहेछन् उनी । हिजै समिक्षक समाजले २३००/- पारिश्रमिक पनि प्रदान गर्‍यो । हाउ नेपाल जाँदा पक्कै ॠतुराजको किताबखानामा पुगौं है । ल्ह्या ! किम्फका डकुड्रामाहरू त हेर्नै पाएन, टिकट त काटिएकै हो । तर "यार्सागुम्बाको खोजीमा" यो नामको डकुड्रामा चैं छ है युट्युबमा, फ्रीमा हेर्नुहोला ।
धन्यवाद ।
( फोटुको लागि एक मो:मोच् कृतज्ञता मातृदीप राईज्यूलाई )

No comments:

Post a Comment