३१ अगस्टमा सम्पन्न बगैंचा डट् कमको सृजनशील सम्मेलन जलयात्रा (मुटु सम्मेलन -४) जत्तिकै सृजनशील रह्यो 'समिक्षक समाज'(सस)को पुस्तक-विमर्श कार्यक्रम गत १४ सेप्टेम्बर । मेरो लागि किन पनि यी दोटै कार्यक्रम सृजनशील रह्यो भने जलयात्रामा 'चाउचाउ साहित्यको प्रस्तावना' प्रस्तुत गर्ने सौभाग्य प्राप्त गरें भने ससको पहिलो कार्यक्रममै मेरो भर्खरै प्रकाशित कविताकृति 'करङको हिरासत' (दोस्रो संस्करण, थप कविता सहित)माथि समिक्षक जेबी पुन मगरद्वारा अत्यन्तै भाँतीपूर्ण समिक्षा भयो जसका कारण आफैले बिर्सिसकेका आफ्नै कविताहरूसित नयाँ सम्बन्ध स्थापित गर्न सकें ।
हङकङको नेपाली साहित्यमा केही नयाँ र महत्त्वको काम गरौं भन्ने नयाँ पुराना सर्जकहरूको उपस्तिथिमा सम्पन्न उक्त पुस्तक-विमर्श कार्यक्रममा कवि टिबी याक्खाको कविता-संग्रह 'आँधि रोकिएपछि'को समिक्षा बज्र थुलुङ राईले प्रस्तुत गरेका थिए । समिक्षक बथुराको समिक्षा सम्पूर्ण रूपले कविको सकारात्मक पक्षसित मात्रै गाँसिएर आएको हुनाले कविलाई प्रस्टीकरणको लागि समाजका संयोजक हेम लावतीज्यूले समय नदिनु भएको बुझिन्छ । तर टिबीले किन कविता लेखेको त्यसको उत्तर हामी सुन्न आतुर थियौं, अब कविता तेत्तिकै लेखेको भन्न नपाइने स्थिति छ ।
रविन राईले अँग्रेजी उपन्यास 'मोरीसितको मंगलबार'लाई एकतर्फी चिरफार गरे, लेखक उपस्थित भएनन् । लेखक उपस्थित भैदिएको भए रविनले जे व्याख्या गरे त्यो कुन हदतक सही थियो तत्काल निर्क्योल हुने थियो, हामी प्रष्ट हुने थियौं । रराले यो उपन्यास बेस्ट सेलर भएकोले मात्रै पढेको जस्तो देखियो । उपन्यासको कन्टेन्टले छोएन मलाई । टोनी मोरिसनको 'ब्लुएस्ट आइ' जहाँ निग्रो सौन्दर्यशास्त्रको कुरो उठाइएको छ, यसप्रकारका उपन्यासहरू माथि अप्रेसन गर्दा हामी सीमान्तवर्ती लेखकहरूलाई विचारको विकास गर्न सहयोगी हुने थियो ।
कविता/साहित्य राजनीति हो भन्ने धारणा व्यक्त गर्ने जेबी पुन मगरले समिक्षाको नियममा बाँधिएर तार्किक विचारहरूले मेरा कविताहरूमाथि 'आलोचनात्मक समर्थन' सुझावसहित प्रस्तुत गरे । जेबीपुम एक प्रोफेसनल पत्रकार पनि भएकोले उनले साहित्यलाई मस्तिष्कबाटै हेर्ने कुरामा म निर्धक्क थिएँ तथापि साहित्य मस्तिष्क मात्रैको प्रतिफल होइन । तेसो र उनको समिक्षा 'टु दि पोइन्ट' हुँदाहुँदै पनि कम्सेकम मलाई चाहिँ दुईएक ठाउँ यान्त्रिक लाग्यो । जस्तो १४ वटा कविताहरू मध्ये ५ वटा २०६० सालतिर नेपालमा लेखिएका हुन् भने बाँकी ९ वटा २०६५ को हाराहारीमा हङकङमा लेखिएका हुन् । जेबीपुमले समय र तेतिबेलाको नेपाली राजनीति र समाजको सायुज्यमा कविताहरू हेरिदिएको भए "बिम्ब" अन्तरविरोधको आक्षेप लाग्ने थिएन मलाई । तथापि उनले यो "बिम्ब" अन्तरविरोधको प्रसङ्ग उठाएर कतै यो अवचेतन रूपमा आएको हो कि ? भन्ने संशय गरेका हुन सक्छन् , कविलाई जाँचेका हुन सक्छन् ।
उनकै शब्दमा "प्रेम र युद्धमा सबै जायज" भने झैं "करङको हिरासत"का कविताहरू सृजनशील अराजकताको आन्दोलनसित गाँसिएको कारण मबाट धेरै बिम्ब र प्रतीकको खेल खेलिएकै हो । जस्तो "श्री ५" खोसिएको बिम्ब, "हिटलर र इदिअमीन" दुई भिन्न प्रसङ्गमा प्रयोग । "इन्दिरा गान्धी मार्ने कुपुत्र" त्यो "सुपुत्र" हुनु पर्ने जेबीको जिकिर सबै जायज छन् । तर हत्याको पछाडि जतिसुकै नेक इरादा भए पनि कविले मानव हत्याको समर्थन गर्न सक्दैन, हामीलाई कतै बन्दुक त बोक्दैन भन्ने आशंकाहरूलाई निर्मूल गर्नलाई पनि 'इन्दिरा गान्धी मार्ने कुपुत्र' लेख्नै पर्ने भयो । थपमा यो लेखें किन भने 'फेमिनिस्ट' व्याख्याले जेबीपुमको चित्त नबुझेको झैं लाग्यो । जे होस् उनले औंलाएका यस्ता भ्रम सिर्जना गर्ने प्रसङ्गहरू कवितामा छन् जसलाई म सहर्ष स्वीकार गर्दछु । र, यसप्रकारका कवितामा कविले प्रयोग गर्ने विशेष छुट "साहित्यिक षड्यन्त्र" बुझ्न पाठकमा पनि विशेष क्षमताको आवश्यकता पर्दछ ।
हङकङका अन्य कविहरूले पनि जेबीपुमको कठघरामा उभिएर आफ्ना कविताहरूको परिक्षण गराए फाइदै हुनेछ । तर मुटु चैं मजबुत बनाउनु पर्ने र मस्तिष्क पनि पुरै तिखार्नु पर्ने सुझाव दिन चाहान्छु आगामि कवि साहित्यकारहरूलाई । हामी के लेख्दैछौं तेस्को थाहा हुनु पर्छ हामीलाई । नत्र हाम्रो साहित्य लेखनको कुनै अर्थ र मूल्य हुने छैन समाजमा ।
समिक्षक समाजको यो अभियानलाई मुक्त कण्ठले प्रसंशा गर्दै र मेरा कविताहरूको निर्मम समिक्षक जेबी पुन मगरज्यूलाई पनि धन्यवाद दिदैं यो फुँदो नमिलेको लेखोट यहीँ तुर्याउँछु ।
#हाङयुग अज्ञात
No comments:
Post a Comment